१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कोरोना कहरः १४ जिल्लामा निषेधाज्ञा

२१ साउन, काठमाडाैँ । सरकारले कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि १४ जिल्लाका विभिन्‍न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।सप्‍तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ । सर्लाही, पर्सा र बारामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ भने बाँकेमा साउन २४ गतेसम्म, सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रहरुमा साउन २५ गतेसम्म निषेधाज्ञा गरिएको छ ।नुवाकोट पूर्व बाेहाेरे भन्ज्याङ, पश्चिम नयाँ चौतारा, उत्तर बागेश्वरी भन्ज्याङ र दक्षिण पोखरी डाँडा र हिलेटोलमा अर्को आदेश नभएसम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

मोरङको विरानगर महानगरपालिकामा साउन ३० गतेसम्म,महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा साउन २१ गतेसम्म र दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्म र अर्जुनधारा नगरपालिका क्षेत्रमा साउन २२ गतेसम्म, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा अर्को आदेश नभएसम्म् र बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि निषेधाज्ञा गरिएको हो । मंगलबारसम्म मुलुकभरमा २१ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जना कोरोनाको संक्रमणबाट निधन भएको छ ।

प्रकाशित मिति : August 5, 2020 at 4:06 pm