स्रोत नखुलेको १६ लाखसहित १ जना पक्राउ
२१ साउन, कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताउनुभयो । भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी–४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ परेका सोनारको साथबाट एक हजार दरका एक–एक सय थानका १२ गड्डी र ५०० दरका एक–एक सय थानका आठ ग्डडी बरामद गरिएको जनाइएको छ । पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताउनुभयो । सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशङ्का गरिएको छ ।
यसैबीच कपिलवस्तुको डालपुरस्थित सशस्त्र प्रहरीले ट्रयाक्टरसहित एक ट्रली मटरको दाल नियन्त्रणमा लिएको छ । मङ्गलबार राति करिब ८ बजे ट्रयाक्टरमा लोड गरी भारतीय सीमातर्फ लैजाँदै गर्दा करिब २०० बोरा मटरको दाल र ट्रयाक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख सुशीलकुमार शाहीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : August 5, 2020 at 11:01 am



