९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद् पीडितलाई १ लाख दिइने

१८ साउन, कर्णाली । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट घर पूर्ण क्षति भएकाहरुको आवास निर्माणका लागि राहतस्वरुप रु एक लाख दिने निर्णय गरेको हो । विशेष गरी विपद्का सयमा नागरिकमा पर्न जाने क्षति र पीडालाई यथासम्भव सम्बोधन गर्न बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले विपद्बाट क्षति भएको घरपरिवारका लागि तीन महिना पुग्ने गरी खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता केसीले बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीका अनुसार जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय उक्त बैठकले गरेको छ ।

प्रकाशित मिति : August 2, 2020 at 11:38 am