१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

कमरेडहरु ! हामीलाई भिजाउने झरिले तपाईंलाई चाहिँ ओभानो राख्छ र ?


-तारा पराजुली

आदरणीय कमरेडहरु ! तपाईंहरु मिल्नुस् ! मात्र मिलिदिनुहोस् ! काम गर्ने त हामी छँदै छौ नि ! दैनिक १५/१६ घन्टा जनताको काममा नियमित खटिइरहँदा समेत नथाकेका हामी तपाईंहरुको आत्मकेन्द्रित र मनोवादी व्यवहारका कारण थाक्न थालेका छौँ। हामीले अझै गर्नैपर्ने कामहरुको फेहरिस्त निकै लामो र फराकिलो छ।

धेरै पर नजाऔँ एक आर्थिक बर्षको अंकगणितले हामीलाई धेरै कुरा सोच्न पर्याप्त स्पेस दिईहाल्छ। तपाईंहरुले पनि भोग्नु भयो- असार सुरु भएदेखि नै बाढीपहिरोले बितण्ड्ता सुरु गर्यो अनि असोज महिनासम्म अन्य काम संगसँगै राहत वितरणमै बित्यो। मंसिरपछि चिसो माैषम र शीतलहरका कारण जनजीवन कष्टकर बन्यो।

कमजोर आर्थिक हैसियत भएका नागरिकहरुको लागि दशा बन्यो यो हिउँद। विकास निर्माणका कामसँगै नागरिकहरुको सहारा बन्दै शीतलहरसँग जुध्दैगर्दा कोरोनाजस्तो जटिल भाइरसले आतङ्कित बनायो।कोरोनाको कठोर प्रहार झेल्न हामीलाई हम्मे-हम्मे परेको छ।

यो समय हामी एक ढिक्का भएर सड्ढटसँग जुध्ने कि कलह हुर्काउने ? मैले बुझेको कुरा यति हो, यसबेला विश्व नै कसरी आफ्ना नागरिक बचाउने भन्ने निष्कर्षमा अडिएको छ । यसबेला जनताको आँगनको सरकार स्थानीय सरकारको प्रतिनिधिको नाताले हामी अत्यन्तै संवेदनशील भएर खटिरहेका छौ कतै विकास निर्माणका काममा त कतै संकट समाधानको लागि अग्रपंक्तिमा।

हामी भने दैनिक जसो १५/१६ घण्टा जनताको काममा तल्लीन भइरहेकै बेला तपाईंहरुको यस प्रकारको बेमौसमी मादलले कस्तो ताल दिइरहेको छ ? यो बेधुन र लयबिनाको बाँसुरी कहिलेसम्म सुनिरहने ? यो कलहले कस्तो संज्ञा देला ? साउने झरिले हाम्रा कच्ची बाटोहरु हिलाम्मे छन् । हामीले टालटुल गरेर हिंड्न सक्ने बनाएका छौँ । यो संवेदनशील समय तपाईंहरु सडकभरि पोखिएर झन धेरै हिलो र प्रदुषण बढाइरहनु भएको छ।

कमरेडहरु ! एउटै छानों ओडेर बसेको बेला हामीलाई पोल्ने आगोले तपाईंलाई चाहिँ शितल दिन्छ र ? हामीलाई भिजाउने झरिले तपाईंलाई चाहिँ ओभानो राख्छ र ? अझै समय छ विवेकको प्रयोग गरौं । संसारमा प्रतिष्ठा भन्ने चिज परिवार, कुल बंशसँग जोडिएकै कारण परिवारको एक सदस्यले मात्रै गलत गरे सिंगो परिवारको शीर झुक्छ । अझ तपाईंहरु शीर्षस्थ व्यक्तिहरुका कारण लाखौँ कार्यकर्ता करोडौं शुभेच्छुक शुभचिन्तकहरुको पार्टीप्रतिको प्रेम र आत्मविश्वास नटुटोस् ।

फेरि पनि निवेदन छ- काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् । देश रहे मात्र पार्टी रहन्छ। स्वाभिमान बाँचे पद योग्यकै कोटमा जाने हो। यो संकटको जटिल घडीमा सम्पूर्ण स्वार्थहरु भुलेर संकट समाधान र राष्ट्रिय स्वाभिमानको लागि जुट्ने समय पदीय दौडमा लाग्नुले उल्टो यात्राको सङ्केत गरिरहेको छ।

मेरो प्रश्न फेरि पनि- हामीलाई घरीघरी दुखाउँने कुरुप घाउले तपाईंलाई भने कस्तो शान्तिको महशुस भएको छ ? काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् । देश नै सर्वोच्च र सर्वमान्य हो।देश रहे मात्र पार्टी रहन्छ। फेरि पनि अनुरोध,काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् । (पराजुली मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख हुन ।)

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १९:५२

https://srdb.com.np/