म्याग्दीका पहिरो प्रभावित क्षेत्रको मुख्यमन्त्री गुरुङद्वारा निरीक्षण, पीडितका लागि राहत वितरण
१ साउन, म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज म्याग्दीको धवलागिरि गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरबाट मुख्यमन्त्री गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुनको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको हो ।
उहाँहरुले मराङ र ताकममा गएको पहिरोले पुुर्याएको क्षतिको बारेमा जानकारी लिएर पीडितको आवश्यकताको विषयमा छलफलसमेत गर्नुभएको थियो । गत शुक्रबार म्याग्दीको बिम, मराङ र ठाडाखानीमा पहिरोका कारण २८ जनाको ज्यान गएको थियो । चार जना अझै बेपत्ता छन् । मुख्यमन्त्री गुरुङको टोलीले पोखराबाट आरबाङ, राम्चे र शिवाङका पहिरो पीडितका लागि खाद्यान्न राहत सामग्री वितरण गर्नुभएको थियो ।
पहिरो पीडितका लागि तत्काल अस्थायी र दीर्घकालीन बसोबासको व्यवस्था मिलाउने मुख्यमन्त्री गुरुङले बताउनुभयो । “विपद्मा परेका नागरिकको साथमा प्रदेश सरकार छ,” उहाँले भन्नुभयो “सुरक्षित र दीर्घकालीन बसोबासको व्यवस्था मिलाउछौँ ।”
पहिरो पीडितको अस्थायी बसोबास भएको ठाउँमा महामारी फैलिन नदिन स्वच्छ खानेपानी र सरसफाइका लागि सहयोग गर्ने उहाँले बताउनुभयो । सो अवसरमा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले पहिरोले पुर्याएको क्षति र थप जोखिमको बारेमा जानकारी गराउनुभएको थियो ।

धवलागिरि गाउँपालिकामा पहिरोबाट ७२ घरधुरीका ५१५ जना पूर्ण रुपमा विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मालिका गाउँपालिकाको बिममा २० घरका ९९ जना पूर्ण र ४२ घरका १८५ जना आंशिक रुपमा विस्थापित भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताउनुभयो ।
उक्त पहिरोका कारण सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । राहत र पहिरो पीडितको ब्यवस्थापनको कामलाई सहज बनाउन दरवाङदेखि ताकम हुँदै मुना र बिम हुँदै मराङ जोड्ने सडक मर्मतका लागि जिल्ला समन्वय समितिले रु एक करोड बजेट विनियोजन गरेको छ । दुई वटा पालिकालाई सडक मर्मतका लागि रु ५०÷५० लाखका दरले वजेट विनियोजन गरेको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।
प्रकाशित मिति : July 16, 2020 at 9:13 pm



