१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

राजनीतिलाई सामाजिक सेवासँग जोड्न प्रेरित गर्ने नेता भरत ढुंगाना


-अनुजकुमार श्रेष्ठ

स्वर्गीय कमरेड भरत ढुङ्गाना नुवाकोटका एक राजनीतिक अग्रज, मेरा राजनीतिक गुरु, एक अभिभावक हुनुहुन्थ्यो। २०४६ साल देखि चिनजान भएपनि समीप भै कार्य गर्ने अवसर २०४८ को आम निर्वाचनमा हो। २०४८ को आम निर्वाचनमा श्रृङखला परिवारको तर्फबाट तत्कालीन नुवाकोट क्षेत्र नम्बर १ को मदानपुर, रानीपौवा र चतुराले लगायत विभिन्न स्थानहरूमा भएको चुनावी सभाहरुमा सहभागी भएको स्मरण गर्न चाहन्छु।

अति साधारण जीवनशैली र जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्न रुचाउने भरत ढुङ्गानालाई नुवाकोटका हरेक क्षेत्र र उमेर समूहले आफ्नो आदरणीय नेताको रुपमा मन पराएका थिए। पचासको दशकमा नुवाकोटको सिङ्गो बामपंथी आन्दोलनको प्रतिनिधित्व गरेका थिए। नुवाकोटका हरेक आन्दोलनको अग्रमोर्चामा उभिएर किसान आन्दोलन, शिक्षक आन्दोलनको नेतृत्व गर्दै नेकपा एमाले नुवाकोट जिल्ला कमिटीका सचिवको रुपमा निर्वाचित भएपछि उहाँसँग मेरो सामिप्यता अझै बढेको अनुभव छ।

तत्कालीन अनेरास्ववियु नुवाकोटको दशौ जिल्ला सम्मेलनको तयारीमा आयोजक कमिटीको सचिवको हैसियतले जुटी रहदा नेकपा एमाले पार्टी सचिवको रुपमा वहाँको साथ र सहयोग अविस्मरणीय छ। प्रमुख अतिथिको रुपमा तत्कालीन पार्टी महासचिव कमरेड मदन भण्डारीकि धर्मपत्नी तथा हाल नेपालका महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी को उपस्थितिमा बिशाल घोषणासभा सम्पन्न गर्न सफल भएका थियौ। उक्त घोषणा सभामा जिल्ला कमिटीको अध्यक्षको रुपमा कमरेड भरत ढुङ्गाना समेतको हातबाट रातो टीका लगाउदाको स्मरण मात्रैले छाती चौडा हुन्छ।

नुवाकोटका साधारण जनता जिल्लामा आईपर्ने हरेक कामहरुका लागि भरत सरलाई भेट्ने गरेको प्रत्यक्ष अनुभव गरेको छु। प्राय सदरमुकाम विदुरमा नै बस्नु हुने भरत सर नुवाकोटको विकासमा समेत प्रत्यक्ष जोडिएका थिए । २०५४ सालमा नुवाकोट जिल्ला विकास समितिको सभापति भए पछि कमरेड भरत ढुङ्गाना अझै लोकप्रिय र चर्चित भएका थिए। २०५४ सालमा भएको पार्टी विभाजन पछि नुवाकोटका धेरै निर्वाचित जनप्रतिनिधिहरु, नेता कार्यकर्ताहरु उत्साहका साथ तत्कालीन नेकपा माले तर्फ लाग्नुमा कमरेड भरतको ठूलो भुमिका रहेको छ।

२०५६ सालको आम निर्वाचनमा देशव्यापी रुपमा मालेको शून्य परिणाम पछि छाएको निरासाका कारण कमरेड भरत ढुङ्गाना माओवादी जनयुद्ध तर्फ आकर्षित भएकोमा दुईमत नहोला । जनयुद्धका विचमा भएको युद्ध विरामका बेला काठमाडौं खुल्ला मंचमा भएको आम सभामा भेटहुदा जनताको भलाई र सामाजिक आर्थिक रुपान्तरणका लागि आफू जनयुद्धमा समाहित भएकोले तपाईं सहित अन्य साथीहरूलाई स्वागत गर्न आतुर रहेको सुन्दै गर्दा घर परिवार अनि भर्खरै जन्मिएकि छोरी सम्झिएर आफू अडिएको क्षण अझै झल्झली याद आईरहेकोछ। अति उत्साहित मुडमा प्रस्तुत भएको भरत सर संगको त्यही भेटनै जीवनको अन्तिम भेट भयो।

मेरो राजनीतिक जीवनमा भरतसर संगको उठवसले धेरै प्रभाव परेकोछ। राजनीतिलाई व्यापारको रुपमा भन्दा सामाजिक सेवाको रुपमा लिनुपर्छ भन्ने प्रेरणा भरत सरसंग प्राप्त गरेको हुँ। र त्यही मार्गमा निरन्तर अघि बढ्ने प्रण गर्दछु। हार्दिक श्रद्धाञ्जली भरत सर१ तपाईंले देखाउनु भएको बाटोमा सधैं हिडिरहने छु। हार्दिक श्रद्धा सुमन कमरेड भरत ढुङ्गाना !

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार १६:३०

https://srdb.com.np/