८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

भारतीय नागरिकलाई नागरिकता दिलाएपछि सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान

२३ असार, झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले विसं २०७२ मङ्सिर १० गते भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो ।

झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले यही असार २० गते काठमाडौँको गोठाटारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी झापा ल्याएको थियो ।

नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीका सूचना अधिकारी थापाले बताउनुभयो

प्रकाशित मिति : July 7, 2020 at 8:26 am