८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सेनाको सम्मानसहित बागलुङका कोरोना सङ्क्रमितको शव व्यस्थापन

२२ असार, गलकोट । क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ । विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो । यही असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब सङ्कलन गरिएको भए पनि मृत्यु भएपछि मात्र कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।

फाइल फाेटाे

सुनिलको शवलाई नेपाली सेनाको अर्जुन बाड गणअन्तर्गत शत्रुमर्दन गुल्मका तीन जना सेनाले आइतबार राति अन्तिम सलामी दिएर बिदाइ गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो । खोला नजिक बगरमा डोजरले खाल्डो खनेर विश्वकर्माको शव गाडिएको छ । पोखरा, गोरखालगायतका विभिन्न स्थानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा आएको अवरोधलाई देखेर आफूहरु तयारी अवस्थामा रहेको भए पनि ढोरपाटनमा कुनै अवरोध नभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभएको छ ।

मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको बिरामी थिए । उनको फोक्सोको देब्रे भागले भारतमा हुँदा नै काम गर्न छोडेको बताइएको छ । असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिकास्थित ससुरालीमा होम क्वारेन्टिनमा बसेका थिए । श्रीमती र छोराछोरीसहित असार १२ गते स्वाब सङ्कलनको लागि ढोरपाटन–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टिनमा राखिएको वडाध्यक्ष तिलक पुनले बताउनुभयो ।

श्रीमती, दुई छोरी र एक छोराको समेत स्वाब सङ्कलन गरी पठाइएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो । एक छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भए पनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएको कारणले सपरिवार क्वारेन्टिनको एउटै कोठामा बसिरहेको वडासचिव देवेन्द्र बस्यालले जानकारी दिनुभयो । मृतक विश्वकर्माका परिवारका सदस्यको पुनः स्वाब सङ्कलन गरी परीक्षण गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 6, 2020 at 10:47 am