८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सुस्मिताको हत्या परिवारबाट नै भएकाे खुलासा, सासु ससुरा र २ वटी नन्द सार्वजनिक

१५ असार, काठमाडाैँ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ सुर्यचोककी सुस्मिता क्षेत्री थापाको हत्या उनकै परिवारका सदस्यले गरेकाे खुलेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि हत्यामा संलग्न रहेको भन्दै उनको ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा, जेठि नन्द दुर्गा कार्की,कान्छी नन्द सिता थापालाई सार्वजनिक गरेको हो ।

गत असार १ गते मृत भेटिएकी सुस्मिताको हत्याको अभियोगमा यसअघि प्रहरीले उनीहरुको परिवारको सदस्यलाई पक्राउ गरेको थियो । अभियुक्तलाई सार्वजनिक गर्दै मकवानपुरका प्रहरी प्रमुख शुसिलसिंह राठौरले हत्या क्रुरतापुर्वक गरिएको बताए ।

यस्ताे छ घटना विवरणः

गत असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतकको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । ततपश्चात मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए । सुस्मीता महिनावरी भएको कारण भान्छाकोठाको भुईमा बसेर खाना खाँदै थिईन्, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गर्छन् ।

त्यसपछि सुस्मीता भुईमा लड्छिन र सोहि मौकामा नन्द सिताले नजिकै रहेको लोहोरो प्रहार गरि उनलाई थप घाईते बनाउछिन् । सुस्मिताले बचाउ, बचाउ भन्ने स्वर निकालेपछि सासु तुलासापनि भान्छाकोठामा आउँछिन, ततपश्चात सासुलाई नन्द र ससुरा मिलेर बाहिर पठाउछन र पुन प्रकाश र सिताले घाइते सुस्मितालाई लौरो र लोहोरोले प्रहार गरि हत्या गर्छन् ।

सुस्मिताको मृत्युपछि प्रकाश र सिता मिलेर उक्त कोठमा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउछन, भुईमा लागेको रगत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गर्छन् । जिउमा लागेको रगत पखाल्दै नुहाएर बुबाछोरी सुत्छन् । भोलीपल्ट आफैले मेरो बुहारीले आत्महत्या गरिन भन्दै गाउँलेलाई पनि बोलाउछन् ।

यस्ताे छ घटनाको कारणः

-२०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मृतक सुस्मीताको श्रीमान रुपेन्द्रको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै आरोप लगाउने काम भएको ।
-ससुरा प्रकाश थापाबाट मृतक सुस्मीता क्षेत्री थापालाई बाथरुममा जबर्जस्ती करणीको उद्योग गरेको
-मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सबारी दुर्घटनाको मृत्यु पश्चात पाउने क्षतिपुर्तीबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेको ।
-स्वर्गीय रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण हालसम्म प्राप्त नगरेको ।
-सामजिक सुरक्षा कोषबाट २०७६ कार्तिकबाट २०७७ बैशाखसम्म मासिक १७ हजार १ सयको दरले सुस्मीतालाई पैसा आएको तर त्यो रकममा पनि परिवारको दाबी रहेको ।
-नेशनल लाईफ इन्सुरेन्सबाट प्राप्त हुने रकम १० लाख रुपैँया प्रकाश थापाले लिएको ।

यस्ताे छ कानुनी प्रावधानः

मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम क्रुर याताना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहेसम्म कैद अर्थात जन्मकैद हुने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।

प्रकाशित मिति : June 29, 2020 at 1:09 pm