समाचार संकलनमा रोक लगाउने विदुरका मेयर पण्डितको उर्दीमा पत्रकार महासंघको आपत्ति
१२ असार, नुवाकोट । नुवाकोट जिल्लाको सदरमुकाम समेत रहेको विदुरनगरपालिकाका मेयर सञ्जु पण्डितले पत्रकारलाइ समाचार संकलनमा रोक लगाउन गरेको उर्दीमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शुक्रबार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति मार्फत मेयर पण्डितले प्रदर्शन गरेको व्यवहार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालको भएको उल्लेख गरेका छन ।
यस्तो छ पत्रकार महासंघले जारी गरेको विज्ञप्ति
नुवाकोटस्थित विदुर नगरपालिकाको निमन्त्रणामा सातौं नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई सभा अध्यक्ष तथा नगरपालिकाका प्रमुखले नगरसभाको समाचार संकलन गर्न नमिल्ने भन्दै समाचार संकलनमा रोक लगाउँदै पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

असार १० गते नुवाकोटको बट्टारस्थित होटल सताञ्चुलीको सभाहलमा आयोजित विदुर नगरपालिकाको सातौं नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलनका लागि सभास्थल पुगेका सञ्चारकर्मीहरुलाई सभामा केही जनप्रतिनिधिहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि सभा अध्यक्ष एवं नगरपालिकाका प्रमुखले ‘पत्रकारका कारण सभा अमर्यादित हुनसक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै नगरसभाको समाचार संकलनमा रोक लगाएका थिए ।
स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको यो घटना आफैंमा निन्दनीय र लज्जास्पद छ । यो घटनाले संविधानले सुनिश्चत गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादमा समेत ठेस पुगेको महासंघको ठहर छ । महासघं प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दछ ।
रमेश विष्ट
महासचिव
प्रकाशित मिति : June 26, 2020 at 10:14 pm



