८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सशस्त्र प्रहरीका विरूद्धमा नियोजित दुष्प्रचार, पत्रकारिताको आवरणमा भिजिलान्तेको प्रयोग

१२ असार, काठमाडौँ । सशस्त्र प्रहरीका विरूद्धमा नियोजित दुष्प्रचार भएपछि संगठनले त्यसको खण्डन गरेको छ । शुक्रबार सशस्त्र प्रहरीका प्रवक्ता प्रविणकुमार श्रेष्ठले एक विज्ञप्ति मार्फत पत्रकारिताको आवरणमा भएको भिजिलान्तिजमको निन्दा गरेका छन । सशस्त्र प्रहरीकै केही उच्च अधिकारीकै संलग्नतामा संगठन सिध्याउने र राष्ट्रियताको मुद्दा कमजोर पार्ने उद्देश्यले भिजिलान्तेहरू प्रयोग भएपछि सशस्त्रले त्यसको खण्डन गरेको हो ।

पत्रकारिताको आवरणमा सशस्त्रको विरूद्धमा संगठनकै अधिकारी समेत प्रयोग भएपछि गृह मन्त्रालयले यस विषयमा अनुसन्धान समेत गरिरहेको छ । संगठनको काम भन्दा पनि नेताहरूको घरदैलोमा कोशेलीपात बोक्दै कुद्ने र पत्रकार जम्मा गरेर मदिराको भोजगरी संगठनका विरूद्धमा नियोजित रूपमा भ्रमपूर्ण समाचारको कारखाना नै सञ्चालन गर्नथालेपछि सशस्त्रले शुक्रबार विज्ञप्ति नै निकालेर भ्रमपूर्ण समाचारहरूको खण्डन गरेको हो ।

यस्तो छ सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्ति 

विगत केही दिनदेखि विभिन्नथ पत्र-पत्रिका तथा अनलाइन न्युज पोर्टलमा सशस्त्र प्रहरी बल¸ नेपालको स्वीकृत संगठन व्यवस्थापन तथा सर्वेक्षण र अन्य केही विषयका सम्बन्धमा भ्रामक¸ कपोलकल्पित¸ आधारहिन तथा तथ्यहिन समाचार प्रकाशित भएकोमा सशस्त्र प्रहरी बल¸ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । स्थापनाको छोटो समयमा नै सशस्त्र प्रहरी बल¸ नेपालले राष्ट्र र नागरिकको सेवा¸ सुरक्षा¸ सहयोग तथा उद्दारमा हिमालदेखी तराई सम्म परिचालित रही आफूलाई सक्षम सुरक्षा निकायको रुपमा प्रमाणित गरिसकेको छ । हाल नेपाल लगायत विश्वभर महामारीको रुपमा फैलदै गरेको कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारबाट जारी गरिएका आदेश र निर्देशनको अक्षरशः पालना गराउन सीमा ईलाका लगायत देशका विभिन्नए क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारी दिन रात¸ भोक प्यास¸ घाम पानी र हावा हुरीको पर्वाह नगरी अहोरात्र परिचालित भइरहेको यथार्थ आम सर्वसाधारणले प्रत्यक्ष अनुभूती गरिरहेका छन् ।

यती हुदाहुदै पनि केही संचार माध्यम र व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ र हितका लागि तथा सस्तो लोकप्रियता र अनलाइनको शुरुवातीमै विकाउका लागि संगठन र संगठन प्रमुखमाथि सुनियोजित ढंगले विना अध्ययन हचुवाको भरमा भ्रम सृजना गराइ संगठन र राष्ट्रको सुरक्षा माथी नै सुनियोजित प्रहार गर्ने मनसायबाट प्रेरित भइ समाचार प्रकाशन गरिरहेको देखिन्छ ।

सशस्त्र प्रहरी बल¸ नेपाल नेपाल सरकारबाट प्रदान गरिएका जिम्मेवारी र उत्तरदायित्व पुरा गर्न सदैब प्रतिबद्ध छ।संगठनको प्रगतिमा ईर्ष्या गर्ने केही तत्वहरुले अनेक हतकण्डा अपनाएर संगठनलाई विवादमा ल्याई कमजोर बनाएर आफ्नो स्वार्थ पुरा गर्ने मनसायबाट संगठन माथि प्रहार गरिरहेको तथ्य उजागर हुन थालेका छन् ।संगठनको व्यवस्थापन तथा सर्वेक्षण एवं दरबन्दी हेरफेर गर्ने सम्पूर्ण अधिकार श्री गृह मन्त्रालय र नेपाल सरकारको रहेको छ। तसर्थ यस्ता कार्यमा आफुखुशी गरेको भन्नुि जवरजस्त ढंगले विवादमा तान्नेन र बदनाम गराउने मनसायबाट प्रेरित भएको देखिन्छ । सशस्त्र प्रहरी बल¸ नेपाल नेपाल सरकारको आदेश र निर्देशनमा परिचालित भइ सर्वसाधारण नागरिकको सेवा तथा सुरक्षामा समाहित संगठन भएकोले यसको विकास र विस्तार राज्य र जनताको आवश्यकता हो त्यसैले यसमा कसैले स्वार्थपूर्ण कुण्ठा लिनुपर्ने आवश्यकता देखिदैन ।

सांगठनिक पुनर्संरचना गरी विगतमा २ सय ३७ जना जनशक्ति रहने सीमा सुरक्षा कार्यालयलाई ६ सय २१ जना रहने गणमा स्तरोन्नती एवं राजश्वी चुहावट नियन्त्रण र राजश्वय तथा भन्सार गस्ती सुरक्षा गुल्मको रुपमा परिचालन गरी तराई एवं देशको सीमा क्षेत्रमा संगठनको उपस्थितीलाई १० हजारको संख्याबाट वृद्धी गरी १५ हजार भन्दा बढी पुर्या्एको स्मरण गराउदै हाल अन्य स्थानबाट समेत थप जनशक्ती सीमा सुरक्षामा परिचालित भइरहेको र तराईमा जनशक्ती वृद्धी गर्ने नेपाल सरकार तथा संगठनको त्यो सुझबुझपूर्ण निर्णयले नै हालको विषम परिस्थितिको सामना गर्न सहज भएको तथ्यलाई थप पुष्ट्याई गरिरहनु पर्दैन ।

सशस्त्र प्रहरी बल¸ नेपाललाई नेपाल सरकारबाट प्राप्त कार्यादेश मध्ये सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै विगतमा दक्षिणी सीमानामा रहेको ८७ वटा बोर्डर आउट पोष्ट (बि.ओ.पी.)को संख्या वृद्धी गरी पूर्वमा ईलामको पशुपतिनगरदेखि सुदुरपश्चिममा दार्चुलाको छाङ्गरु सम्म १ सय ३० वटा र उत्तरतर्फ हुम्लाको हिल्सा¸ मुस्ताङ्गको नेचुङ्ग तथा संखुवासभाको किमाथाङ्का गरी ३ सहित १ सय ३३ वटाको संख्यामा बि.ओ.पी. स्थापना भएबाट पनी संगठनको बर्तमान नेतृत्व देशको सीमा सुरक्षामा दृढ संकल्पित रहेको स्पष्ट छ । यसका साथै सीमा सुरक्षा बाहेक सशस्त्र प्रहरी बल¸ नेपाललाई प्राप्त अन्य जिम्मेवारी तथा कार्यादेशको कार्यान्वयन गर्न स्थायी बाहिनी¸ गण¸ अनाश्रीत गुल्मका साथै केही जिल्लामा आश्रीत गुल्म (गणबाट डीट्याच गरी लगेको)का रुपमा देशका ७७ वटै जिल्लामा परिचालित हुनुपर्ने आवश्यकता रहेको र यो परिचालनले विपद् व्यवस्थापन लगायत विभिन्ना कार्यमा राष्ट्र र आम नागरिकको सेवा तथा सुरक्षा प्रभावकारी रुपमा गर्न थप मजवुद भएको स्मरण गराउन चाहन्छौं ।

आफ्नो व्यक्तिगत हित र स्वार्थलाई थाती राखी स्थापनाकाल देखि नै जीवनलाई दाउमा राखेर देश र जनताको लागि समर्पित सशस्त्र प्रहरी राष्ट्रसेवकको मनोवल कमजोर बनाउने दुष्प्रयास स्वरुप भएका तथ्यहिन¸ आधारहिन तथा अनर्गल र मनगढन्ते हल्ला प्रती विश्वास नगरी आम नागरिकबाट सशस्त्र प्रहरी बल¸नेपाल प्रति गरिएको विश्वा्स र आशालाई भरोसाको रुपमा लिन अनुरोध गर्दछौं। यस्ता हल्ला र कुप्रचारका कारण सशस्त्र प्रहरी बल¸ नेपाल देश र जनताको हितमा कार्य गर्न किन्चित विचलित नभई देश र जनताको हितका लागि नेपाल सरकार एवं गृह मन्त्रालयको आदेश र निर्देशन बमोजिम जस्तोसुकै परिस्थितीमा पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाहमा प्रतिवद्ध रहेको कुरा समेत स्मरण गराउन चाहन्छौं।

प्रकाशित मिति : June 26, 2020 at 9:47 pm