९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

रामकुमारीले समयमै बैंकलाई ब्रोकर लाइसेन्स दिएको भए आज सेयर बजार बन्द हुने थिएन


-राधाकृष्ण गिरी

विश्व बजारमा कोरोनाको कहरकाबीच अन्य आर्थिक क्षेत्र बन्द रहे पनि पुँजी बजार निरन्तर सञ्चालनमा छ। जनताको तरल सम्पत्ति नियमित उपयोग भै रहेको छ। पुँजी बजारको जोखिम हस्तान्तरण भैरहेको छ । नेपाली पुँजी बजार लामो समय देखि बन्द छ । एकातिर लगानिकर्ताले आफ्नो तरल सम्पति प्रयोग गर्न पाएका छैनन् भने अर्कोतिर जोखिम हस्तान्तरण गर्न र जोखिम बहन गर्न पाएका छैनन् । यसरी नेपाली पुँजीबजारकाे मुल मर्म मरेको छ भने लगानीकर्ता लाचार बनेका छन । ८७ दिन भन्दा लामो समय पुँजी बजार रोकिँदा राष्ट्रिय र अन्तर्रास्ट्रिय रुपमा समेत प्रश्न उठेको छ। देश भित्र समेत चौतर्फी प्रश्न उठेको छ। यद्यपी चित्त बुझ्दो जवाफ कसैको छैन ।

सानो देश पुँजी बजारमा एउटै क्षेत्रको बाहुल्यता र अनेक स्वार्थ समूहको चुङ्गुलमा नेपालको पुँजीबजार पनि परेको छ । २०५० साल जेष्ठ २५ मा स्थापना भएको पुँजी बजार २८ औँ बर्ष पुग्दा पनि आशातिश सफलता र विकास हुन सकेको छैन । अर्को दु:खद् पक्ष भनेको वास्तविक उत्पादनसँग जोडिएका कम्पनी आज पनि पुँजी बजारमा आउन इच्छुक छैनन् । अर्थमन्त्रीले धितोपत्र बोर्डको २८ औँ बार्षिक उत्सब कार्यक्रममा धितोपत्र बोर्डले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भनेर आलोचना गर्नुभयो । तुलनात्मक रुपमा दक्षिण एसियाली बजारमा समेत पुँजी परिचालनदेखि प्रबिधि परिचालनसम्म हाम्रो बजार बंगलादेशको भन्दा पनि पछि परेकाे छ ।

कहाँ अड्कियो हाम्रो सेयर बजार ?

सेयर बजारमा गत केहि बर्ष धेरै सुधार भए पनि केही बिषय टुङ्गो नपुगेको र विवादमा पर्नगइ रोकिएकोले अहिले बजार बन्द गर्न परेको हो। यस्तै विवाद मध्येको एक हो बैंकलाई ब्रोकर लाइसेन्स लिने विवाद । लामो विवाद र रस्साकस्सीका बीच बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरामा सबैतिर सकारात्मक अभिव्यक्ति आइरहेको थियो । नेपालको एकमात्र पुँजी बजारको निमायक निकाय धितोपत्र बोर्ड पनि सकारात्मक नै थियो । र नेप्सेलाइ आबस्यक कार्यबिधी बनाइ ब्रोकर लाइसेन्सको लागि निर्देशन जारी गरेको थियो । सरोकारवालाहरु आफनै किसिमले छलफलमा थिए।

धितोपत्र बोर्ड र राष्ट्र बैंकले बैंकहरुलाई सहायक कम्पनी स्थापना गरेर ब्रोकर लाइसेन्स दिने निर्णय गरेपछि २०७६ श्रावण १७ गते १५ दिनको समय राखेर सहायक कम्पनी मार्फत ब्रोकर लाइसेन्स दिन आवेदन माग्यो र बैंकहरुले आवेदन दिन सुरु गरेका थिए । त्यहीबीचमा संसदको अर्थ समितिमा यस विषयमा छलफल भयो । सांसदहरूले आफ्नै किसिमले राय दिए । अर्थ समिति निचोडमा पुग्न नसकेपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने नदिने विषयमा अध्ययन गर्न र सुझाब दिन गत श्रावण २९ गते नेकपा नेतृ रामकुमारी झाक्रीको संयोजकत्वमा उपसमिति गठन भयो र त्यसले नेप्सेलाइ सोझै पत्र पठाएर बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने काम स्थगित गर्न निर्देशन दियो ।

यो आलेख तयार गर्दा त्यो उपसमितिको आज झण्डै १० महिना पूरा गरेको छ तर २ हप्ता गहन अध्ययन गर्दा पूरा हुने एउटा प्रतिबेदन युवा नेतृले नेतृत्व गरेको उपसमितिले दिन सकेको छैन । अनेक स्वार्थको चङुलमा आफैँ फसेर निर्णय गर्न सकेन यसकै कारण आज पुँजी बजार बन्द हुन पुगेको छ । समयमै बैंकलाइ ब्रोकर लाइसेन्स दिने कुरा टुंगोमा पुगेको भए अहिले सेयरबजार पूर्ण रूपमा सञ्चालनमा हुन्थ्यो । अहिले नियामकहरु एक अर्कालाइ दोष दएखाएर बजार अनिर्णयको बन्दी हुन पुगेको छ । यसरी अरु नियामकहरु लगानीकर्ताप्रती उदासिन भै जबाफदेहीता बिहिन बन्दा जनताका प्रतिनिधिले जबाफ माग्ने ठाउ समेत छैन । संसदीय सर्बोच्चता सम्मान गर्ने हाम्रो प्रणाली संसदीय उपसमितिको अनुसन्धान र विवेकले जे निर्णय र सुझाव पनि दिन सक्छ । तर त्यही उपसमितिले अनावश्यक समय खपत गरेर सिङ्गो बजार बन्धक बनाएको छ ।

खुल्ला बजार अर्थतन्त्रमा ब्रोकरको संख्या एक दशक भन्दा लामो समय एउटै हुनु र नयाँ प्रबेश निषेध गर्नु भनेको एकाधिकारलाई प्रशय दिनु हो । जम्मा ५० वटा ब्रोकर कम्पनीले अबको पुँजी बजार चलाउन सक्दैनन् । नयाँ प्रबिधि र पुँजी भित्राउन सक्दैनन् । बिश्वका धेरै जस्तो देशमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हुन्छ । छिमेकि मुलुक भारतमा समेत यो सुबिधा छ । नियामक निकायले कार्यबिधी राम्रो बनाउने र अक्षरस कार्यान्बयन गर्ने हो भने बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा धर्ति नै पल्टिने अवस्था छैन । बरू बजार थप राम्रो हुने निश्चित छ ।

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने बित्तिकै सबै बिग्रन्छ भन्ने हैन । भारतमा पहिलो नम्बरमा झन्डै १६ लाख क्रियाशिल लगानिकर्ता जेरोदा ब्रोकर कम्पनीसँग आबद्ध छन भने दोश्रो नम्बरमा रहेको कम्पनीमा १० लाख ८० हजार क्रियाशिल सदस्य सहित आइसिएफसीआइ बैकको सहायक कम्पनीसँग आबद्ध छन । फाल्गुन १५ गते ४ अर्अब ४६ करोड एकै दिन कारोबार गरेर रेकर्ड राखेको नेप्सेमा कुनै ब्रोकर कम्पनीले ७५ करोड माथि कारोबार गरेका थिए भने कुनै कम्पनीले २ करोड पनि कारोबार गर्न सकेन । त्यसैले प्रतिस्पर्धात्मक बजारमा संघर्ष हुन्छ र संघर्षले बिकास ल्याउछ।

आज आस्बा प्रणाली मार्फत प्राथमिक शेयरमा ताप्लेजुङदेखि डोल्पासम्मका नागरिक सहभागी हुँदा यदि ब्रोकर संख्या थप्ने र बैंकलाई ब्रोकर लाइसेन्स दिने हो भने दोश्रो बजारमा समेत सहभागिता बढ्ने निश्चित छ । जसरी आज बैंक बित्तीय संस्थामा आंफै उपस्थित नभै आस्बा प्रणाली मार्फत घरमै बसेर सेयर भरिन्छ त्यसै गरि पुर्ण अनलाइन प्रणाली बिकास गरि बैकँग इन्टिग्रसन गरि आँफै घरबाट कारोबार गर्न सके जुनसुकै अबस्थामा पनि अर्थतन्त्रको ऐना पुँजीबजार बन्द हुने अवस्था रहदैन । प्राथमिक बजारमा जस्तै दोश्रो बजारमा समेत जनताको पुँजी परिचालन गर्न सके छरिएर बसेको पुँजी एकीकृत भै रास्ट्र निर्माण र आर्थिक परिचालन सहज हुन्थ्यो।

७४३ स्थानीय तहमा बैंक पुगिसकेको अबस्थामा हरेक इच्छुक नेपाली दोश्रो बजारमा कारोबार गर्न योग्य हुनेछन् । बैकहरुको ३०० भन्दा बढी शाखा संजाल प्रयोग गर्न सकिन्छ । स्थानीयको सहभागीताले कम्पनीप्रती जनबिस्वास प्राप्त गर्न सकिन्छ। राम्रो कम्पनी हुदा स्थानीयले कति फाइदा लिन सक्छन भन्ने उदाहरणको रुपमा चिलिमे जलविद्युत कम्पनीलाई समेत लिन सकिन्छ्। आज बैंकलाइ ब्रोकर लाइसेन्स दिएको भए १५ खर्ब भन्दा बढिको पुँजी बजार बन्धक बन्ने थिएन ।

बैंकका सहायक कम्पनी आज बैकलाइ ब्रोकर लाइसेन्स दिएको भए १५ खर्ब भन्दा बढिको पुँजी बजार बन्धक बन्ने थिएन। बैकका सहायक कम्पनिले पुजि र प्रबिधी दुबै प्रयोग गर्न सक्षम बन्थे। बैकहरुले नियमित कारोबार गर्दा शेयरबजार पनि निरन्तर चलिरहेको हुन्थ्यो र जनताले आफनो सम्पतिको नियमित प्रयोग गर्न पाउने अवस्था बन्थ्यो।

सेयर बजार झण्डै ३ महिना बन्द हुँदा पनि नियामक निकाय धितोपत्र बोर्ड रास्ट्र बैंकलाई देखाउने, राष्ट्र बैंक समन्बय नगरिदिने, बजार सन्चालक नेप्से धितोपत्र बोर्डलाई देखाउने काम चलिरहेको छ । अर्थ मन्त्रालय मौन बसेर जनताको सम्पत्ति बन्धक बनाएर मुकदर्शक बनेको छ । नेपालको सेयर बजारको बारेमा चौतर्फी प्रशन उठेको छ। राज्यले करोडौं राजस्व गुमाउने थिएन । नेप्से २०७५ साल मंसिरमा उद्घाटन भएको अनलाइन २ बर्ष नाघ्दा पूर्ण अनलाइन ल्याउन नसक्ने । अर्थ उपसमित जिम्मेवारि पूरा नगर्ने । धितोपत्र बोर्ड पुँजी बजारमा नया पुँजी र प्रबिधि भित्राउन तत्परता नदेखाउने । सरोकारवाला सबैले पुँजी बजार बिकास गर्न पर्छ भन्ने तर समयमै आफ्नो जिम्मेवारी पूरा नगर्नुले पुरानो नेपाली उखान हलो अड्काएर गोरु चुट्ने काम भैरहेको प्रतिबिम्बित हुन्छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार ०९:३५