१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेकपालार्इ कुनै शक्तिले पनि टुक्राउन सक्दैनन्ः प्रचण्ड

१० जेठ, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ । लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार स्थिररुपमा पाँचवर्षसम्म यो सरकार टिक्छ । यसमा ढुक्क रहन म आग्रह गर्छु ।”

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२आैँ स्थापना दिवस समारोहलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमा समेत सुविधाजनक बहुमत हुने गरी मत दिएको र यसलाई खेर जान नदिने बताउनुभयो ।

“बहुदल अथवा गणतन्त्र स्थापनापछि पाँचवर्षसम्म कुनै सरकारले काम गर्न पाएनन्, जनताले सरकारको मूल्याँकन गर्न पाएनन्, अब यस्तो अवस्थाको सदा अन्त्य हुन्छ, सरकारले पाँचवर्ष जनमुखी काम गर्छ, यसपछिका निर्वाचनमा जनताले मूल्याँकन गर्छन्, सरकार अब खरो रुपमा आर्थिक समृद्धि र विकासमा उत्रन्छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमले सरकारको आगामी पाँचवर्षको मार्गचित्र कोरेको स्पष्ट पार्दै आगामी बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा बढी रकम विनियोजित हुनेसमेत जानकारी दिनुभयो ।

उहाँले सत्ता प्राप्तिभन्दा राजनीतिक स्थायित्वलाई बलियो बनाउन दुई कम्युनिष्ट पार्टीका बीचमा एकता भएको र यो एकतालाई अब कुनै शक्तिले भाँजो हालेर टुक्र्याउन नसक्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत कम्युनिष्ट एकताबाट राजनीतिक स्थिरता र विकास आउने विश्वास बुधबार बालुवाटारमा भएको बैठकमा व्यक्त गरेको स्मरण गराउँदै उहाँले सबै मिलेर अब आर्थिक विकासमा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

“स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रले मात्र देशलाई समृद्धितर्फ डो¥याउँछ, यसका लागि हामीलाई विदेशी लगानी, सीप र प्रविधि पनि चाहिन्छ,” उहाँले भन्नुभयो ।

पार्टी महासचिव विष्णु पौडेलले अब मुलुकमा स्थायित्व र विकास आउने बताउनुभयो ।

कार्यक्रममा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले आगामी बजेटले भौतिक पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

–रासस

प्रकाशित मिति : May 24, 2018 at 6:07 pm