१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट

१ असार, काठमाडाैँ । प्रदेश १ सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ४० अर्ब ८९ करोड बराबरको बजेट ल्याएको छ । सोमवार विराटनगरस्थित प्रदेशसभा भवनमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेशको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु खर्च तर्फ १८ अरब ९३ करोड अर्थात ४३.२९ प्रतिशत र पूँजीगत तर्फ २१ अरब ९२ करोड अर्थात ५३ प्रतिशत बजेट विनियोजन प्रस्तुत गर्नुभयो ।

गत वर्ष प्रदेश सरकारले ४२ अरब २० करोड रुपैया बराबरको बजेट ल्याएको थियो । प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित क्षेत्रलाई पुनर्उत्थान गर्ने उद्देश्यले स्वास्थ्य, कृषि र श्रम तथा रोजगार क्षेत्रलाई प्राथमिकिकरण गरेको भएपनि बजेटमा सबैभन्दा बढी पूर्वाधार तथा यातायात क्षेत्रमा ८ अरब ७४ करोड रुपैया विनियोजन गरिएको छ । प्रदेशसभा सांसदहरुलाई विकास निर्माण कार्यमा प्रत्यक्ष रुपमा संलग्न गराउन प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा राखिएको छ ।

प्रदेश १ का ५६ वटा प्रदेश निर्वाचन क्षेत्रका लागि २ करोडका दरले १ अरब १२ करोड रुपैया विनियोजन गरिएको छ । यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रत्येक सांसदहरुको सिफारिशमा योजना कार्यान्वयनका लागि १ करोड रुपैया दरले ९३ करोड रुपैयाँ छुट्याइएको छ ।-

प्रकाशित मिति : १ असार २०७७, सोमबार १८:०७