७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

आरडिटी रिपाेर्ट पोजेटिभ आएकाहरू पिसिआर परीक्षणकाे माग गर्दै आन्दोलनमा

२८ जेठ, घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको आइसोलेशन वार्डमा बसेका आरडिटी पोजेटिभ भएकाहरू लामो समय भइसक्दा पनि पिसिआर परीक्षण नगरिएको, प्लाष्टिकको चामल खुवाइएको, चर्को गर्मी विद्युत् व्यवस्थापन नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको आरोप लगाउँदै आन्दोलित भएका हुन् ।

आइसोलेशन वार्डमा बसिरहेका घोडाघोडी–९ का केवल बटालाले पटक पटक जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको र अति भएर सडकमा आउनुपरेको बताउनुभयो । प्रदेशभरि नै स्वाब सङ्कलन रोक्न निर्देशन भएअनुसार घोडाघोडीमा पनि रोकिएकाले पिसिआर परीक्षणमा समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार स्वाब सङ्कलन गर्न भिटिएमको समस्या छ । अब नगरपालिकाले आफैँ भिटिएम खरीद गरेर स्वाब सङ्कलन गर्छ र परीक्षणका लागि पठाउँछ ।

सामुदायिक क्याम्पसलाई आइसोलेशन वार्ड बनाउँदा व्यवस्थापनमा समस्या भएको नगरप्रमुख चौधरीले बताउनुभयो । ‘प्लास्टिकको चामल खुवाइएको भनिएको छ हामी त्यसको छानबिन गर्छौँ, यदि त्यस्तो भेटिएमा जिम्मेवारीमा रहेकालाई कारवाही गर्छाँै’, नगर प्रमुख चौधरीले भन्नुभयो ।

प्रकाशित मिति : June 10, 2020 at 5:50 pm