६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

आज युएईबाट २१० र म्यानमारबाट २६ नेपाली आउँदै

२३ जेठ, काठमाडाैँ । सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ। दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६ सय ५६ नेपालीलाई स्वदेश ल्याउन सकिने भाडासहितको विस्तृत प्रस्ताव बिहीबार पर्यटन मन्त्रालयमा पेस गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवर र केदार दाहालले लेखेका छन्।

युएईमा रहेका दुई सय १० श्रमिक र म्यानमारमा अलपत्र परेका २६ नेपाली भने शुक्रबार नै नेपाल आउँदै छन् । दुवै देशका सरकारले उनीहरूलाई आफ्नै खर्चमा स्वदेश पठाउन लागेको हो । नेपाली श्रमिकलाई घर फर्काउन युएईले केही दिनभित्रै थप आठ उडान गर्ने तयारी गरेको छ। त्यहाँ रहेका करिब १८ हजार नेपाली श्रमिकले स्वदेश फर्किन दूतावासमा आवेदन दिएका छन् ।

स्वदेश फर्किन खाडी मुलुक र मलेसियास्थित दूतावासमा परेका आवेदनमध्ये अत्यन्तै संकटमा रहेका नेपालीको संख्या करिब ५० हजार रहेको ती देशस्थित नेपाली राजदूतहरूले बताएका छन्। तर, परराष्ट्र मन्त्रालयले करिब २५ हजार मात्रै तत्काल फर्काउनुपर्ने अवस्थामा रहेको जनाएको छ । त्यसमध्ये पनि अहिले बढीमा सात हजारलाई मात्र फर्काउने सरकारको योजना छ।

‘पहिला स्वदेश फर्किने भनेर फाराम भरेका केहीलाई अहिले उतै राम्रो लाग्न थालेको छ, त्यसैले आवेदन दिएका सबै फर्कन्छन् भन्ने लाग्दैन । अहिले ल्याउने पनि संकटमा परेकालाई मात्र हो,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने। खाडी मुलुक तथा मलेसियामा रहेका आममाफी पाएका, रोजगारी गुमाएका, भिसा अवधि सकिएका, गर्भवती महिला, बिरामी तथा अपांग श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर स्वदेश फर्काइने परराष्ट्रले जनाएको छ।

प्रकाशित मिति : June 5, 2020 at 6:54 am