७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

४० हजार श्रमिक स्वदेश फर्किने सरकारकाे अनुमान, कुन देशबाट कति ?

२० जेठ, काठमाडाैँ । श्रम गन्तव्य मुलुकहरुबाट तत्काल ४० हजार श्रमिक स्वदेश फर्किन सक्ने अनुमान सरकारले गरेको छ । आधिकारिक तथ्याङ्क सम्बन्धित मुलुकका दूतावासहरुबाट संकलन भइरहेपनि अहिले ४० हजारको संख्या स्वदेश फर्किन चाहानेहरु रहेको अनुमान सरकारको छ । परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागीले कुवेतबाट तत्काल ८ हजार, साउदी अरबबाट ८ हजार र युएइबाट ४ हजार नेपाली आउने तयारीमा रहेको बताउनुभयो ।

यसैगरी मलेसियाबाट ७ हजार कतारबाट ११ हजार, बहराइनबाट ३ सय जोर्डनबाट ६ सय, साइप्रसबाट ४ सय र अध्ययनको शिलशिलामा रहेका १५ सय बढी विद्यार्थीहरु स्वदेश फर्किन तयार रहेको उहाँले बताउनुभयो । २ दिनभित्र यो सबै दूतावासबाट आधिकारिब तथ्याङ्क आउने उल्लेख गर्दै उहाँले श्रम गन्तव्य मुलुकबाहेकको तथ्याङ आइनसेको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले कुबेतबाट उद्दारको काम ५ तारिखबाट सुरु गर्ने तयारी भएको बताउनुभयो । एक दिनमा एक मुलुकमा १ फ्लाइट गरी १० वटा फ्लाइट मार्फत उद्दार गरिने उहाँले बताउनुभयो । सचिव विडारीले एक दिनमा २५ सय देखि ३ हजारसम्मलाई स्वदेश फर्काउने गरी सरकारले तयारी गरेको छ । विमानस्थलमा ओर्लेपछि भक्तपुर, ललितपुर र काठमाडौंमा ९ वटा पार्टी प्यालेसहरुमा उनीहरुलाई राख्ने तयारी सरकारले गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमानहरु तयारी अवस्थामा रहेको बताउनुभयो । आवश्यक परेमा बुद्ध एयरलाइन्सबाट पनि उद्दार गरिनेछ । वाइडीबडीमा बढीमा २ सय ५० र अन्य विमानमा बढीमा ४० जनालाई ल्याइने उहाँले बताउनुभयो ।

विदेशबाट आएकाहरुलाई विमानस्थलमा सामान्य चेकजाँच गरी रिङरोड आसपासमा स्थापना गरिएको प्रदेशगत होल्डिङ रुमहरुमा उनीहरुलाई राखिने छ । प्रदेश प्रदेशको एक एक वटा होल्डिङ रुम बनाइएको छ । त्यसपछि स्थानय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने छ ।

प्रकाशित मिति : June 2, 2020 at 5:43 pm