७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

ग्यास लिक भई आगलागी हुँदा बनेपामा ५ घाइते

१६ जेठ, बनेपा । ग्यास लिक भई आगलागी हुँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा पाँच जना घाइते भएका छन् । रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा आज बिहान ग्यास लिक भई आगलागी हुँदा घरधनी २६ वर्षीय रुकेश ठकुरी, उहाँका श्रीमती २४ वर्षीया शोफिया ठकुरी र डेढ वर्षीया छोरी रचना ठकुरीका साथै उहाँका आफन्त १६ वर्षीय आयुश ठकुरी र मनिष शाह ठकुरी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँले तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको घाइतेको थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर वर्न सेन्टरमा सिफारिस गरी पठाएको बताउनुभयो । उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठामा चुरोट सल्काउने क्रममा आगलागी भएको हो । ग्यास पाइपबाट ग्यास चुहिएको अवस्थामा चुरोट सल्काउने क्रममा त्यहीबाट आगो सल्केको भन्ने बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भान्साकोठा पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित मिति : May 29, 2020 at 4:02 pm