७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

दोलखामा फौजी किराले मकै नष्ट गर्न थालेपछि किसान चिन्तित

१६ जेठ, चरिकोट । दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी किराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो किराले सताउन थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको मकैबारी, तामाकोशी, मेलुङ, कालिञ्चोक र शैलुङलगायतका विभिन्न क्षेत्रमा सो किराको जोखिम बढ्दै गएको जनाइएको छ । हुर्कंदै गरेको मकैमा किरा लागेको र सबै पातसहित खाएर मकैबारीमा नै सखाप पार्न थालेको किसानले बताएका छन् ।

 

दुई हजार मिटरको उचाइमा रहेको चोथाङमा करिब १५० रोपनी क्षेत्रमा लगाइएको बालीमा किरा लागेर सबै मकै सखाप पारेको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो । यसैगरी मेलुङ, तामाकोशी, वैत्येश्वर, कालिञ्चोक तथा शैलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा सो किराको जोखिम रहेको छ । गत वर्ष पनि जिल्लाको मेलुङ गाउँपालिकाले पवटी तथा वैत्येश्वर गाउँपालिको केही क्षेत्रमा किराको प्रकोप देखिएर नियन्त्रणमा आएको भए पनि यो वर्ष धेरै क्षेत्रमा फैलिएको पहाडी बाली अनुसन्धान केन्द्र काभ्रेका कार्यक्रम संयोजक मकैवाली विज्ञ नारायणबहादुर धामीले बताउनुभयो ।

उहाँका अनुसार यो किरा रातिको समयमा सक्रिय हुने र एउटा किराले जीवन अवधिमा एक ५०० देखि दुई हजारसम्म फूल पार्न सक्ने जानकारी दिनुभयो । यसको प्युपा अवस्था माटोमुनि छदेखि आठ सेमीसम्म जानसक्ने र गर्मीमा आठदेखि नौ दिनसम्म र जाडोमा २० देखि ३० दिनसम्म किरा सक्रिय रहने र सातदेखि २१ दिनसम्म बाँच्ने भएकाले छोटो समयमै बाली सखाप पार्ने गरेको उहाँले बताउनुभयो ।
सो किरा नियन्त्रणका लागि जिल्लाको नौवटै स्थानीय तह सक्रिय हुँदैे किसानलाई आवश्यक विषादी, उपकरण तथा प्राविधिक उपलब्ध गराएका छन् ।

प्रकाशित मिति : May 29, 2020 at 3:29 pm