७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बाँच्न पाउने हक सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोगकाे माग

१६ जेठ, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी यस्ता घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराइले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा विगत केही समययता शृङ्खलाबद्धरूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाप्रति शून्य सहनशीलता कायम गरी दोषीलाई कारवाही गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको हो ।

आयोगले रुपन्देही जिल्ला देवदह नगरपालिका–११ की १३ वर्षीया बालिकामाथि यही जेठ ९ र १० गते भएको भनिएको बलात्कार घटना र उनको शङ्कास्पद मृत्युप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनापश्चात दोषीलाई कानूनी कारवाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधिसमेतको रोहवरमा बलात्कारका आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाएपछि अन्तरजातीय भन्दै बालिकालाई घर भित्रिन नदिएपश्चात् भएको निज बालिका अङ्गिरा पासीको शङ्कास्पद मृत्युका सम्बन्धमा आयोगको प्रदेश कार्यालय बुटवलले स्थलगत अनुगमन गरेको छ ।

छुवाछूत तथा भेदभावविरुद्धको हक तथा सबै प्रकारका भेदभावविरुद्धको महासन्धि १९७९ विपरीत भएकाले बलात्कारका आरोपितका साथ लगाइ बालिकालाई आरोपितको घर पठाउनेहरु उपरसमेत निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याइ कारवाही गर्न आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

समाजमा शृंखलाबद्धरूपमा भइरहेका यसप्रकारका घटना बालअधिकार, जातीय विभेदविरुद्धको अधिकार र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्ने गरी व्यवस्था गरिएको नेपालको संविधानले बालबालिकाको बाँच्न पाउने हकको सुनिश्चित गरेको भए पनि पछिल्लो दिनमा यस्ता घटना भइरहेका विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : May 29, 2020 at 1:47 pm