मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय आन्दोलीत
८ जेठ, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि चिनी मिल बन्द गर्न माग गर्दै स्थानीय आन्दोलीत भएका छन् ।
विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले यस वर्षदेखि मदिरासमेत उत्पादन गर्न थालेको वडाध्यक्ष हरिलाल चौधरीले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्दको माग गरेको बताए ।
मदिरा उत्पादन बन्दको माग गर्दै ३७१ जनाको हस्ताक्षर गराई सोमबार नगरपालिकामा विरोधपत्र पेश गरिएकोे जानकारी अध्यक्ष दिए । चिनी मिलबाट उत्पादनका रुपमा निस्कने सिराबाट सुगर इन्डस्ट्रिजले मदिरा उत्पादन गर्न थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
गैरकानूनी रुपमा मदिरा उत्पादन गरी वातावरणीय, धार्मिक र सामाजिक क्षेत्रमा असर परेको जानकारी स्थानीय बासिन्दाले दिएपछि स्थानीय सरकारका हैसियतले तत्काल मदिरा उत्पादन स्थगित गरी यथाशीघ्र नगरपालिकालाई लिखित स्पष्टीकरण दिन सुगर इन्डस्ट्रिजलाई पत्राचार गरी सकिएको नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताए ।
प्रकाशित मिति : May 22, 2018 at 11:53 am









