७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

प्रेस युनियन अफ दी इयर अवार्ड श्रेष्ठलाई

१४ जेठ , पोखरा । प्रेस युनियन अफ दी इयर अवार्डबाट पत्रकार अनिषा श्रेष्ठ सम्मानित हुनुभएको छ । नेपाल प्रेस युनियनका कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो अवार्डबाट यस वर्ष पहिलोपटक श्रेष्ठ सम्मानित हुनुभएको युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । प्रेस युनियनको २९ औँ स्थापना दिवसका अवसरमा युनियन जिल्ला कार्यसमिति कास्कीद्वारा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले उहाँलाई सो अवार्ड प्रदान गर्नुभएको हो ।

अवार्डको राशि रु पाँच हजार र प्रशंसापत्र छ । सो अवसरमा प्रतिनिधिसभा सदस्य केसीले अब पनि यही रूपमा बन्दाबन्दी बढाउँदै जाँदा भयावह अवस्था सिर्जना गर्ने उल्लेख गर्दै उत्पादनशीलता र अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी भएको बताउनुभयो । वर्तमान सरकारले काँग्रेसकै सहयोगका कारण नयाँ नक्सा बनाएको उल्लेख गर्दै उहाँले लिपुलेक हाम्रो पुर्खाले आर्जेको भूभाग भएका कारण यसलाई गुम्न दिनु  नहुने बताउनुभयो । राष्ट्रियताका विषयमा सबै पक्षबीच एकता भएमा कसैले पेल्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सवारी दुर्घटनामा घाइते भएका प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य सुमन गुरुङलाई रु १० हजार सहयोग हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, सल्लाहकार रवीन्द्र बाँस्तोला, पूर्वकेन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुलीलगायतले युनियनको स्थापना र यसले नेपालको प्रेस जगत्को विकासमा पुर्याएको योगदानमाथि चर्चा गर्नुभयो । प्रेस युनियन कास्कीले यस वर्ष सुप्रेम शारदा पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र शान्ति पत्रकारिता पुरस्कार वितरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : May 27, 2020 at 12:24 pm