२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

सीमा विवादबारे दिएको अभिव्यक्तिका कारण विवादमा मुछिएकी नायिका वर्षा राउतले माफी मागिन

११ जेठ, काठमाडाैँ । नेपाल–भारतबीच​को सीमा विवादबारे दिएको अभिव्यक्तिका कारण विवादमा मुछिएकी नायिका वर्षा राउतले माफी मागेकी छिन् । वर्षाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढै बस्न खोज्ने बताउँदै भनेकी छिन्, ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन ।’

उनले आफूलाई नेपाली हुनुमा गर्व भएको बताउँदै लेखेकी छिन्, ‘ संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’

नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थनमा आफू अग्रपंक्तिमा उभिन तयार भएको पनि उनले बताएकी छिन् । यसबारे उनी लेख्छिन्, ‘ हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु ।

तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिक मात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगाढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी(बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानव धर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्वहरुले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ । ’

उनले अब आइन्दा हेक्का राखेर बोल्ने पनि बताउँदै यस्तो परिस्थिती खडा भएकोमा क्षमासमेत मागेकी छिन् ।

याे पनि पढ्नुहाेस्ः

-नायिका वर्षालाई नेपाली भूमिको भन्दा बढी भारतीय साथीको चिन्ता, सामाजिक सञ्चालमा चर्को आलोचना

प्रकाशित मिति : May 24, 2020 at 1:35 pm