७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

भक्तपुरका २ कोरोना सङ्क्रमित घर फिर्ता, बस्तीका १३ को स्वाब सङ्कलन

९ जेठ, भक्तपुर । भक्तपुरमा पहिलोपटक स्थानीयवासीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि भक्तपुर नगरपालिकाले पिसिआर परीक्षण शुरु गरेको छ । सङ्क्रमित व्यक्ति बस्ने भेलुखेलमा भक्तपुर नगरपालिकाका केही सफाइ कर्मचारी पनि बस्ने भएकाले उच्च सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको पहिलो चरणमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ ।

आरडिटीमा त्रुटि देखिएपछि नगरपालिकाले त्यसलाई रोकेर पिसिआर परीक्षण शुुरु गरेको जनाएको छ । पहिलो चरणमा जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि ४६, स्वास्थ्य कर्मचारी ४४ र सफाइ कर्मचारी १६० कार्यरत रहेको नगरपालिकाले जनाएको छ ।

सांकेतिक तस्विर

त्यसैगरी सङ्क्रमणलाई समुदायमा फैलिन नदिन सङ्क्रमित बसोबास गर्ने क्षेत्रका ३५ घरलाई प्रहरीले बन्द गर्दै उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका परिवारसहित १३ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । भक्तपुर ५ बस्ने ४२ वर्षीय काठमाडौँ महानगरपालिकाका सवारी चालकलाई कोरोना सङ्क्रमण भएपछि परीक्षण शुरु गरिएको हो ।

त्यसैगरी भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका २७ वर्षीय पुरुष र २५ वर्षीया युवती बिहीबार डिस्चार्ज भएका छन् । गत वैशाख ३१ गते चाँगुनारायण नगरपालिका–१ दुवाकोटका पुरुष र सुनसरीबाट मध्यपुरथिमि– ४ शङ्खधर चोक नर्स साथीका कोठामा बस्ने २५ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकु अस्पतालमा राखेर उपचार गरिएको थियो । दुवै कोरोना भाइरसमुक्त भएपछि बिहीबार डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : May 22, 2020 at 10:51 am