अब उपत्यका प्रवेश गर्न आरडीडी रिपोर्ट चाहिने, गृह मन्त्रालयले जारी गर्याे यस्तो परिपत्र
८ जेठ, काठमाडौँ । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेकाे हाे ।
गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । पत्रमा लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।

काठमाडौँ उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नुपूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पत्रमा उल्लेख छ ।
स्थानीय संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्न गृहले उपत्यकाका स्थानीय तहलाई पठाएकाे पत्रमा अनुरोध गरिएकाे छ ।
उक्त पत्रमा उपत्यका प्रवेश गर्न अत्यावश्यक परेका व्यक्तिले आरडीडी परिक्षणकाे रिपोर्ट देखाएर उपत्यका प्रवेशका लागि अनुमति लिनुपर्ने उल्लेख गरिएकाे छ ।

प्रकाशित मिति : May 21, 2020 at 1:29 pm





