६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

कोरोना सङ्क्रमित व्यक्ति र सुत्केरीलाई फरक स्थानमा उपचारको व्यवस्था गर्न सांसदहरूकाे सुझाव

७ जेठ, काठमाडौँ । राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नन्दा चापागाईले कोरोना भाइरसका बिरामी र गर्भवती सुत्केरीको उपचार एकै ठाउँमा गरेको पाइएको हुँदा फरकफरक स्थानको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

“कतिपय अस्पतालमा कोरोना भाइरस सङ्क्रमित व्यक्तिको उपचार र गर्भवती तथा सुत्केरीको उपचार भएको देखियो”, सांसद चापागाईले भन्नुभयो, “ती उपचार फरकफरक हुन जरुरी छ, जनतालाई सुविधा होस् मुख्य कुरा यही नै हो ।” नेपाली काँग्रेस प्रकाश पन्थले सरकारले विदेशमा सङ्कटमा परेका नेपालीलाई नेपालमा ल्याउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सबै नेपालीलाई विदेशबाट ल्याउनुपर्छ भन्ने होइन, कामविहीन र समस्यामा परेका नेपालीलाई ल्याउनुपर्छ, सरकार नेपाली नागरिकको अभिभावक हो ।”

सांसद पन्थले क्यारेन्टाइन बनाउन समस्या परेको भन्ने कुरा आइरहेको उल्लेख गर्दै नेपालमा धेरै सुविधासम्पन्न होटललाई क्वारेन्टिन प्रयोग गर्नसमेत सुझाव दिनुभयो । नेकपाका मायाप्रसाद शर्माले कोरोना भाइरसको सङ्क्रमणका कारण विपद्मा परेका नागरिकको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

प्रकाशित मिति : May 20, 2020 at 12:29 pm