टिचिङमा उपचार गराइरहेका काेराेना संक्रमित बालिकाका अभिभावकमा कोरोना नेगेटिभ
४ जेठ, काठमाडाैँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ पुर्याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको छ ।

वाणगङ्गा–४ ठाकुरापुरकी कोरोना संक्रमित बालिकाका हजुरबुवा र हजुरआमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको जानकारी प्राप्त भएको बाणगङ्गा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । बालिकाका हजुरबुबाले नातिनीको पुनः एक पटक परीक्षण गर्न अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो,“हामी शुरुदेखि एउटै कोठामा सँगै बसेका छौँ तर उसमा मात्र कसरी कोरोनो पुष्टि भयो ।”
घाँटीको समस्या आएपछि बालिकालाई गत वैशाख २७ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचारका क्रममा बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो । बालिकाको स्वास्थ्यवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि गत शुक्रबार साँझ मात्र अस्पतालका चिकित्सक र कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
प्रकाशित मिति : May 17, 2020 at 7:01 pm





