औषधि किन्न निस्केकाको ढाड भाँच्ने प्रहरी अभियन्ताको नाममा भएको गुण्डागर्दीमा किन चुप ?
४ जेठ, काठमाडाैँ । कलंकीमा औषधि किनेर मेडिकलबाट फर्किएका नागरिकको ढाड भाँचिनेगरी लाठीले कुटपिट गर्ने प्रहरीले नागढुंगामा अभियन्ताको नाममा गुण्डागर्दी गर्न छुट दिइरहेको छ ? अहिलेको अहम प्रश्न यही हो । बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा नारायण कार्कीसहित स्वास्थ्यकर्मीलाई बीचमा सडकमा गुण्डागर्दीको शैलीमा प्रहरीकै अघि आफूलाई कथित सामाजिक अभियन्ता बताउने उत्तम कार्कीले धम्क्याए तर प्रहरीले देख्दै नदेखेको जस्तो गर्यो ।

शुक्रबार हेटौंडाबाट काठमाडौंमा स्वास्थ्य सामग्री लिन आएका उनलाई नाकामै केरकार मात्र गरिएन उनको गाडी रोकेर ब्याग खानतलासी गर्ने काम समेत गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यसले स्वास्थ्यकर्मीको मनोबल के होला ? आफ्नो ज्यान जोखिममा राखेर कोरोनाबिरुद्ध फ्रन्ट लाइनमा रहेर क्रियाशील स्वास्थ्यकर्मीको विरूद्धमा भएको यस प्रकारको गुण्डगर्दीमा प्रहरी किन रमित्यो बन्यो ? यस विषयमा गृह मन्त्रालयले पनि खोजी सुरू गरेको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा स्वास्थ्यकर्मीलाई हप्कीदप्की गर्ने व्यक्ति आफूलाई सामाजिक अभियान्ता बताउने गरेका छन् । कथित स्वयंसेवी बताउने उत्तम कार्कीको नेतृत्वमा हुल्याहा जमातले कानुन हातमा लिंदा पनि प्रहरीले उनीहरुलाई उन्मुक्ति दिइरहेको छ । नागढुंगामा प्रहरीले गाडी रोक्यो, तर गाडी चेकिङ गर्न प्रहरी आएन । हुल बाँधेर उभिएका तिनै कथित स्वयंसेवी युवा गाडीनजिक आए । हुलमध्येबाट कसैले हप्कीदप्की गर्दै गाडीको पास देखाउन भने । कार्कीले पास देखाए । तर उल्टै त्यही पासको फोटो खिच्दै उनको फेसबुक लाइभमार्फत् अपमान गर्ने काम गरेर डा कार्कीलाई फर्काए ।
यसैबीच नेपाल एशाेसियसन फर मेडिकल ल्याबरोटोरी साइन्सले एक विज्ञप्ति जारी गरी उत्तम कार्कीलाइ कारबाही गर्न माग गरेको छ । विज्ञप्ति मार्फत घटनाको सन्दर्भमा घोर भत्सर्ना गर्दै स्वास्थ्कर्मीलाइ दूर्व्यवहार गरेर सामाजिक सञ्जालमा भिडियो बनाउनेलाइ तत्कालन कारबाहीको दायरामा ल्याउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : May 17, 2020 at 9:08 am





