१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

स्वास्थ्यमा संस्थागत पुनर्संरचना हुने, निरोगी नेपाल निर्माण मुख्य नीति

-शरद शर्मा

२ जेठ, काठमाडाैँ । सरकारले स्वास्थ्य सेवाको गुणस्तरमापन गर्नका लागि प्राधिकरण स्थापना गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवाको गुणस्तरमापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने उल्लेख गर्नुभयो ।

औषधि, औजार तथा उपरकणसमेतको गुणस्तरीय मापन तथा नियमन गर्न खाद्य तथा औषधि प्रतिष्ठान स्थापना गर्नेसमेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आगामी आर्थिक वर्षमा नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सरकारले नेफ्रोलोजी र युरोलोजी सेवालाई सबै प्रदेशमा विस्तार गरी लैजाने सरकारले लक्ष्य राखेको छ ।

यसैगरी कान्तिबाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्चशिक्षाको अध्ययन गर्न उत्कृष्ट केन्द्रका रुपमा विकास र मनमोहन कार्डियोथेरापी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गङ्गालाल राष्ट्रिय हृदयकेन्द्रमा बालमुटु रोगको पहिचान परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवालाई थप विशिष्टकृत गर्दै लैजाने समेत सरकारको लक्ष्य रहेको छ । सबै मेडिकल कलेजले जिल्लास्थित एक अस्पतालमा शल्यचिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्यसंस्थाले महिनाको एक पटक एक दिन सेटेलाइट क्लिनिकल सञ्चालन गर्नुेपर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

छाता ऐन तर्जुमा गरिने

यसैगरी केन्द्रीय अस्पतालले तोकिएको स्थानमा नियमितरुपमा सेटेलाइट अस्पताल सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइने छ । सबै अस्पतालबाट विपद् वा महामारीका बेलामा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने प्रवन्ध मिलाइने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

सरकारले रोगको रोगथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज् कन्ट्रोल स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धानक केन्द्र र अस्पताललाई थप मितव्ययि, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिने उल्लेख गरिएको छ ।

तीन वर्षभित्रमा सबैको स्वास्थ्य बीमा

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५७१ स्थानीय तहका २७ लाख बढी नागरिकलाई स्वास्थ्य बीमा गरिएको उल्लेख गर्दै निित तथा कार्यक्रममा आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ । यसैगरी वीरेन्द्र सैनिक अस्पताललाई आपत्कालीन अवस्थामा घाइते बिरामीको सबै प्रकारको स्वास्थ्य उपचार गर्ने सक्नेगरी स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा छ ।

सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको २७६ बुँदे नीति कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित २१ बुँदे कार्यक्रम रहेका छन । नीति तथा कार्यक्रमको ४१ नम्बर बुँदादेखि ६१ सम्म स्वास्थ्यका विभिन्न कार्यक्रम उल्लेख गरिएको छ । त्यो यस प्रकार रहेको छ

41. यस सरकारले गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ सेवामा सबै नेपालीको समतामूलक पहुँच सुनिश्‍चित हुने गरी कार्यक्रम सञ्‍चालन गर्नेछ। देशभित्रै अन्तर्राष्‍ट्रियस्तरको शिक्षा र स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारहरूको विकास गरिनेछ। शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रबल बनाउँदै निजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गरिनेछ।

42. आगामी आर्थिक वर्ष स्वास्थ्य संस्थाहरूको स्थापना एवं स्तरोन्‍नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिनेछ।

43. निरोगी नेपाल निर्माण यस सरकारको मूल स्वास्थ्य नीति हो। प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवर्द्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्‍चालन गरिनेछ। स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गरिनेछ।

44. मुलुकभरका ६ सय ७१ स्थानीय तहका वडाहरूमा पूर्णखोप सेवा उपलब्ध वडा घोषणा गरिएको छ। आगामी वर्ष सरकारले बाँकी सबै स्थानीय तहका वडाहरूमा पूर्णखोप सेवा पुर्‍याउनेछ।

45. आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका स्थानीय तहका थप २ हजार ६ सय २६ वडाहरूमा पूर्वाधार निर्माण र सेवा उपलब्ध गराइएको छ। आगामी वर्ष स्थानीय तहका वडामा रहेका स्वास्थ्य संस्थाहरूको सेवाको गुणस्तर वृद्धि गरिनेछ। भूगोल र जनसङ्‌ख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना र स्तरोन्‍नति गरिनेछ।

46. प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्‍चल अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्‍नति गरिनेछ।

47. सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्‍ठान तथा कोसी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालबाट उपलब्ध विशिष्‍टीकृत स्वास्थ्य सेवाको विस्तार र स्तरोन्‍नति गरिरहेको छ। यी केन्द्रीय अस्पताललाई ५ सय शय्याको विशेषज्ञ अस्पतालको रूपमा विकास गरिनेछ।

48. सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शय्याको केन्द्रीय र न्यूनतम ५० शय्याको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्‍न सरुवा रोग अस्पताल स्थापना गरिनेछ।

49. गरिब तथा विपन्‍न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ।

50. उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र महिलाहरूको पाठेघरसम्बन्धी रोगको रोकथाम, पहिचान, परीक्षण र उपचारका कार्यक्रमहरू देशव्यापी रूपमा थप प्रभावकारी बनाइनेछ। वडास्तरीय सेवा केन्द्रबाट ४० वर्षमाथिका नागरिकको रक्तचाप, अल्बुमिन र मधुमेह जाँच गर्ने व्यवस्था गरिनेछ।

51. आयुर्वेदिक, युनानी, होमियोप्याथी एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवर्द्धन गरिनेछ। आम नागरिकलाई योगाभ्यास र शारीरिक व्यायामसहितको जीवन पद्धति अपनाउन प्रेरित गरिनेछ। स्थानीय तहका वडाहरूमा व्यायामशाला, आरोग्य केन्द्र र योग केन्द्रहरू स्थापना गर्न प्रोत्साहन गरिनेछ।

52. नेपालभरको जुनसुकै स्थानबाट तीन अङ्‍कको टेलिफोन नम्बरमा सम्पर्क गरी नागरिकले सहज र सरल रूपमा एम्बुलेन्स सेवा प्राप्‍त गर्नसक्‍ने एकीकृत एम्बुलेन्स सेवा सञ्‍चालन गर्ने व्यवस्था मिलाइनेछ। प्रमुख राजमार्गहरूमा ट्रमा सेवाको विस्तार गरिनेछ।

53. त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्‍जमा कलेजो प्रत्यारोपण सेवा प्रारम्भ गरिएको छ। आगामी आर्थिक वर्ष यस अस्पतालमा नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गरिनेछ। यी सेवालाई सबै प्रदेशमा विस्तार गर्दै लगिनेछ।

54. कान्ति बाल अस्पताललाई बालरोगका विभिन्‍न विधामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्‍ट केन्द्रको रूपमा विकास गरिनेछ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र सहिद गङ्‍गालाल राष्‍ट्रिय हृदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिनेछ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवालाई थप विशिष्‍टीकृत गरिनेछ।

55. सबै मेडिकल कलेजले जिल्लास्थित कम्तीमा एक अस्पतालमा शल्य चिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाहरूले महिनाको एक दिन स्याटेलाइट क्लिनिक सञ्‍चालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ। केन्द्रीय अस्पतालहरूले तोकिएका स्थानमा नियमित रूपमा स्याटेलाइट अस्पताल सञ्‍चालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ।

56. सबै अस्पतालहरूबाट विपद् वा महामारीको समयमा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रबन्ध मिलाइनेछ।

57. रोगको रोकथाम तथा नियन्‍त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ। औषधी, औजार तथा उपकरणसमेतको गुणस्तर मापन तथा नियमन गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनको स्थापना गरिनेछ। स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरूको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्‍ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ।

58. स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्‍ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पतालहरूलाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिनेछ।

59. अन्तर्राष्‍ट्रिय विमानस्थल र अन्तर्राष्‍ट्रिय सीमाका प्रमुख नाकाहरूमा आधुनिक हेल्थ डेस्क तथा क्वारेन्टिन गृह स्थापना गरिनेछ।

60. स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ५ सय ५१ स्थानीय तहका २७ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बिमा गरिएको छ। आगामी तीन वर्षभित्रमा सबै नागरिकमा पुग्नेगरी स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रममा आधारभूतबाहेकका स्वास्थ्य सेवाहरू क्रमशः समावेश गर्दै लगिनेछ।

61. वीरेन्द्र सैनिक अस्पताललाई आपत्कालीन अवस्थामा आम घाइते-बिरामीलगायतको सबै प्रकारको स्वास्थ्य उपचार गर्नसक्ने सुविधासहित स्तरोन्‍नति गरिनेछ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ तल पढ्न सक्नुहुन्छ

प्रकाशित मिति : 21:07