१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

कामरेडका मौसमी भाइरल राष्ट्रवाद र दुर्योधनपथको मूर्च्छना

–प्रा.डा. ऋषिराम शर्मा

भनिन्छ कागले आफ्नो नाम आफै काढ्छ ! मन्त्री पदलाई मोहियानी दावी गरिरहने एकजना भूपू मन्त्री कामरेड अहिले आफ्नै सरकारका विरुद्ध यसरी घनघोर वर्षँदै महा भाइरल बन्नुभएको छ र मानौँ ‘दुर्योधन हुँ’ भने झैँ गरी दम्भसाथ आफ्नो नाम आफै काड्दै हुनुहुन्छ ! लाग्दै छ, त्यसभित्र उहाँको कुर्सीकुण्ठा असिनापानी बनेर बर्सँदै छ ! कुर्सी र पद नपाउँदाको पीडायुक्त राष्ट्रवादका बाछिटा उहाँका शब्द शब्दबाट बाङ्गोटिङ्गो गरी उछिट्टिई रहेका छन् ।

देशभक्ति र राष्ट्रवादको मसिहा बन्ने सुरमा उहाँ अहिले फरकफरक समयमा हवाइ, रक्षा र गृहमन्त्री भएको कुरा सायद भुल्नु भा भएर हो वा सोही कुर्सीमा पुग्न चाहने नशाको मत्रा बढी भएका कारण बेहोस भएर हो, अहिले भारतले त भिडियो कन्फ्रेन्सबाट उद्घाटन मात्रै गरेको बाटो त उहाँ मन्त्री भएकै बखत धमाधम पो खनिँदै थियो रहेछ भन्ने बिपनाबोध उहाँलाई कहिले हुने ?

उहाँ सायद त्यतिबेला सुदूर पश्चिमको कमान्डर र हवाइ मन्त्री हुनुहुन्थ्यो, यसरी उहाँले अहिले तावडतोड विरोध गरिरहेकै पार्टी भित्रको दोहोरो जिम्मेवारीमा उहाँ स्वयम् हुनुहुन्थ्यो अर्थात् उहाँमा ‘एक व्यक्ति अनेक पद’ सवार थिए । अझै भन्ने हो भने त्यतिबेला धमाधम लिम्पियाधुरामा अहिले उद्घाटन भएको भनिएको बाटामा धमाधम डोजर चलाएको कर्कश आवाज उहाँको उतैको घरबाट पनि सुनिन्थ्यो होला ! तर उहाँले उहिले त्यो स्वर सुन्नै चाहनु भएन वा सुने पनि त्यतिबेला त्यो स्वर मीठो लाग्यो किनकि उहाँ मन्त्री हुनुहुन्थ्यो !

आदरणीय कामरेडजी राजनीति शास्त्रका गोल्डमेडलिस्ट र ताजा विद्यावारिधि विभूषित घगडान व्यक्तित्व हुनुहुन्छ तर उहाँ जब बोल्नुहुन्छ खै, त्यो व्यक्तित्व कुन्नि कता कुलेलम ठोक्छ । लाग्दछ, उहाँभित्रको अहङ्कारी व्यक्तित्वको प्रेत उहाँमाथि सवार भै रहेछ ! आफ्नो अन्तर्वार्ता उहाँ आफैले कुनै दिन सुन्नु भो भने पनि उहाँ स्वयम् ‘छि कस्तो बोलिएछ’ भनेर पछुताउनु हुन्छ होला जस्तो पो लाग्दै छ त । उहाँको लिट्रेचर रिँभ्यु हेर्दा उहाँका काम र कुराका बीच विचित्र बेताल देखिँदो रहेछ !

आदरणीय कामरेड ! तपाई नेकपाको गर्व गर्न लायक नेता हुनुहुन्छ र त्यस्तै भइरहनु होस् र पराक्रमी भीमसेन भैरहनुहोस् भन्ने चाहना हामी जस्ता शुभ चिन्तकले राख्नु स्वाभाविकै हो ! तर के गर्नु आफै अन्धमहत्वाकाङ्क्षी दुर्योधनपथतिर बिना ब्रेकको गाडी लिएर हान्निएपछि अरुले चाहना राखेर मात्र हुँदो रहेनछ क्यार !

एउटा घगडान व्यक्तित्वका मुखारविन्दबाट नदी झैँ प्रवाहित हुनु पर्ने सौम्य वचन तित्रे शैलीमा जब उत्ताउलो लेते खोलो झैँ उत्ताउलिएर बग्न थाल्छ त्यसले पार्टीका अनुशासनका सम्पूर्ण विधि र पद्धतिका बाँध र डिल स्वयम् भत्काउँदो रहेछ ! कम्युनिस्ट पार्टीको विद्वान् र वरेण्य व्यक्तित्वबाट यसरी आफैले विधि र पद्धतिका बाँध भत्काउने र आफै पार्टीमा विधि र पद्धति भएन भन्दै आफ्नै सरकार, आफ्नै प्रधानमन्त्री माथि लज्जास्पद शाब्दिक प्रहारमार्फत् डुक्रने विरोधवैचित्र्य प्रदर्शन गर्नुहुन्छ ! त्यति मात्र होइन सङक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको पार्टी एकीकरणको रसायनलाई होडल्न ज्यानै फालेर लाग्नु हुन्छ भने तपाईको नामलाई पछिलो पुस्ताले पदलोलुपताको पर्यायवाची शब्दका रूपमा प्रयोग गर्लान् कि भन्ने भय पो छ त !

सुनिन्छ, उहाँ हवाइ मन्त्री हुँदा चाइना साउथ एयर जहाज काण्डमा आम रुपमा ठूलै भ्रष्टाचार काण्डले डामिनु भएको हो रे ! भलै अख्तियारले आरोपपत्र सहित डामेका उहाँलाई अदालतका डाक्टरले भ्रष्टाचारको कडा रोग छैन भनेर निरोगिताको प्रमाणपत्र दिएका हुन् रे । उहाँलाई यो कुरो राम्ररी थाहा भएर हो वा कत्ति पनि थाहा नभएर हो वा थाहा भएर पनि थाहा नभएझैँ गरेर हो, अहिले आफै अख्तियार अधिकारी र आफै न्यायाधिश झैँ बनी आफ्नै सरकारका विरुद्ध विभिन्न कसिमका आरोपहरू लगाउँदै र फैसला समेत सुनाउँदै हिँडिरहनु भएको छ ।

कामरेड ज्यू गृहमन्त्री पनि हुनुभएकै हो ! उहाँ त्यतिबेला गृह मन्त्री हुँदा पनि उहाँको मूल घरको नजिकै पर्ने लिम्पियाधुरामा अहिले उद्घाटन गरिएको बाटो धमाधम खनिँदै थियो होला ! पक्कै पनि उहाँ जस्तो घगडान राष्ट्रभक्तले त्यतिबेला त्यसक्षेत्रमा पुलिस चौकी राखेकै हुनु पर्छ, पछि कुन चाहिँ राष्ट्रघाती र बेकामे गृहमन्त्रीले ती चौकी हटाएको हो त्यो पनि सत्यतथ्य बाहिर आइदिए हुन्थ्यो !

अँ, कामरेड ज्यू, गृहमन्त्री निवृत्त भएपछि एक वर्षसम्म पनि गृहमन्त्री हैसियतमा गाडी, सुविधा र सुरक्षाकर्मीको निर्धक्क प्रयोग गर्नु भएको कुरो त यहाँलाई स्मरणै होला ! आज खुबै नैतिकताको कुरो गरिरहनु भएकाले यहाँको त्यतिबेलाको नैतिकताको ग्राफ हेरिरहेकाहरूले अहिले के सोचिरहेका होलान् भन्ने कुरो त यहाँले सोच्ने कुरै भएन ! किनकि अनुशासन, नैतिकता, विधि र पद्धति जस्तो महान् कार्य जो व्यवस्थित गर्न बिषेहरूको नेत ….यहाँ लागि परिरहनु भएको छ नि त !

अँ साँच्चै, तपाईँ त सुरक्षामन्त्री पनि हुनु भाको हो क्या र २०७० सालतिर । त्यतिबेला पनि लिम्पियाधुरामा भारतीय डोजरहरूले ताण्डव देखाइरहेका थिए नै होलान् ! सुदूर पध्चिमको तत्कालीन बिर्तावाल तपाईँलाई सुदूर पश्चिमले केही भनेन वा बिचरा त्यो तपाईँको जन्ड स्वभावसँग तर्स्यो ! त्यो त यसै भन्न सकिन्न तर अहिले तपाँईँकै अहिलेका कुरा सुन्दा त्यतिबेला लिम्पियाधुरामा सैनिक पोस्ट तपाईले राखेकै हुनु पर्ने जस्तो लाग्छ ! कि कसो ?

मलाई सम्झना छ, मुलुकको सार्वभौम एकताका लागि दृढ प्रधानमन्त्रीले मधेशलाई नै देशको नक्साबाट अलप गराउँछु भन्दै हिडेको विद्वान पृतकतावादीलाई विखण्डनपथबाट फरक्क फर्काइ राष्ट्रकै सयौँ थुँगा फूलमा ल्याएर समाहित गराउनु भो, त्यतिबेला अर्का विद्वान् तपाईले त्यसलाई राष्ट्रघाती कदम भन्दै कुर्लेका कुरासँग र अहिले तपाईले दुईतिहाई सरकारविरुद्ध कसेको मोर्चा जस्ता थुप्रै सन्दर्भ अन्वित गर्ने हो भने तपाईको देशभक्तिका लागि नयाँ परिभाषा निर्माण गर्नु पर्ने पो देखिन्छ त !

दुर्योधनको सत्ता तिर्खाको महत्वाकाङ्क्षाको अग्निकुण्डमा परेर कौरववंश नाश भए झैँ तपाईको सत्ता तृष्णाको पहिरोले स्थायित्वको वाम सरकारले मात्र होइन उहाँको लहै लहैमा लाग्नु हुने त्यसका इमान्दार र क्रान्तिकारी शीर्ष कामरेडहरूले समेत कति मूल्य चुकाउनु पर्ने हो कुन्नि ?

नेपाली भूमि लुटिएको छ र त्यसलाई फिर्ता ल्याउन राज्य र नागरिकका तर्फबाट कूटनैतिक एवम् अन्य दवाव दिनु आवश्यक छ । यसलाई सबै मिलेर अन्तर्राष्ट्रिय स्तरमा नाङ्गेझार पार्ने देखि सीमानामा काँडेतार लाउने एवम् कूटनैतिक रूपमा कडा प्रस्तुत हुने सम्मका गतिविधि आवश्कता अनुसार वाञ्छनीय छन् । यसका लागि सरकारलाई बल दिनुका साथै गम्भिर हुनु त परै जाओस्, कुर्सी प्राप्तिको स्वर्ण अवसर ठान्नेहरूले आफ्नो विगतको ऐना नहेर्ने, बडो मौसमी र भइरल राष्ट्रवादी बन्ने फेसन बढ्दो छ । यस्तो चर्तीकलाबाट एकछिन अर्काबाट स्याबासी पाइएला तर त्यस्तालाई आफ्नै विगतले लखेटिरहेको थाहा हुँदो रहेनछ !

यही सरकारले लिएको अडानबाट रूष्ट भाइसाहबजी प्रच्छन्न रूपमा आज यो सरकार गिराउन उद्यत छन् भन्ने गाइँगुइँ सुनिँदै छ । विगत दुई दशकदेखिको अस्थिरतामा जसरी एकएक नेता आफ्ना दूतावासका दैलामा लम्पसार परे उनी अहिले नेपालको राजनीतिलाई त्यही मोडमा पुर्याउन खोज्दै छन् रे, त्यसका लागि को को ककसलाई ककसरी प्रयोग गर्दैछन् भन्ने कुरा समयले बताउँदै जाला ।

तर यो सरकार अहिले निर्भयसाथ दरो रूपमा प्रस्तुत हुन जरुरी छ । उताको रिमोटबाट सरकार परिवर्तनको खेलमा जर्सी लगाएर मैदानमा उत्रनेहरूका आवाज चर्का छन् ! आफ्ना पालामा धमाधम बाटो खनिँदा चूँ आखर नबोल्नेहरू आज सरकारले औपचारिक र प्रस्ट रूपमा विरोध गरेको र उक्त क्षेत्र नेपाली भूमि हो भनी गर्वसाथ भनि रहँदा तिनको नक्कली राष्ट्रवादी चुरीफुरीले आकास छुँदो छ । त्यसैले दक्षिणले तयार पारेका दक्षिणाका खाममा राल चुहाउनेहरूलाई नेपाली जनताले पहिचान गर्ने नै छन् !

माननीय कामरेडजीले संसदको परराष्ट्र समितिमा मुलुककै माननीय परराष्ट्र मन्त्रीका बारेमा बोलेका शब्द र उहाँको हाउ भाउले उहाँले भनिरहेको विधि पद्धतिको राम्ररी नै मजाक उडाएको देखियो ! व्यक्तिसँग कुण्ठा हुन सक्ला तर पदको गरिमा राख्न पर्छ भन्ने कखरा पनि ज्ञान नभएझैँ व्यवहार उहाँबाट प्रदर्शित भयो । त्यसले त उहाँले प्राप्त गरेको योग्यता र अहिले सम्मकै इतिहासमा आफ्नै पार्टीका विरुद्ध आगो उकेलेर गिनिज बुकमै नाम लेखाउने खालको उहाँको राष्ट्रवादी राप ताप्दै रमाउने भिजिटरहरू पनि मनग्ये देखिए ।

स्मरण रहोस्, उफ्रेर राष्ट्रवादी भइने भए बाख्रा र मृगका पाठा सबै भन्दा राष्ट्रवादी हुन्थे ! राष्ट्र एक भएर लुटेरालाई जवाफ दिनु पर्नेमा कोरोनाका आतङ्का कारण जनता आतङ्कित भइरहेका बेला र सरकारले सचेततासाथ काम गरिरहेका बेला र बलियो छिमेकीले साँध मिचिरहेका बेला सत्ताको च्याखे दाउ थापी आफ्नै सरकारलाई अप्ठ्यारो पारेर कसको मानु पचाउन खोजिँदै छ, त्यो रहस्य पनि समयले खोल्ला नै !

मुलुक दोहोरो सङ्कटमा छ, उत्तरी छोटे भाइरस (कोरोना) र दक्षिणी बडेभाइरस (सँधियार) मिलेर मुलुक र जनतामाथि धावा बोलिरहेका बेला एक भएर लड्नु पर्ने बेला आफ्नै घर र दलभित्रका एक भूपू मन्त्रीको कुत्सित सत्ताप्राप्तिको घृणित दुर्योधन मूर्च्छनाले मुलुक अभिशप्त, आक्रान्त र लज्जित छ । हे, नेपाल आमा यिनलाई र यी मार्कालाई सद्बुद्धि देऊ !

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार २२:१७