१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेपाली भूमिमा भारतले १९ किलोमिटर सडक निर्माण गरेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

२८ वैशाख, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले १९ किलोमिटर नेपाली भूमि हुँदै सडक निर्माण गरेको जानकारी दिनुभएकाे छ । आइतबार बसेकाे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिनुभएकाे हाे ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको जानकारी पाएसँगै यसबारेमा विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको समेत मन्त्री ज्ञवालीले  बताउनुभयाे ।

भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको अवधारणा सन् १९९९ मा विकास गरेको बताउँदै मन्त्री ज्ञवालीले भारत सरकारले सन् २००५ मा स्वीकृत गरेको सो सडकमार्गको निर्माण कार्य सन् २००८ मा सुरु गरेको उल्लेख गर्नुभयाे । सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि भारतले सडक निर्माणमा तीव्रता दिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे ।

नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि नै भएको बताउँदै त्यस्तै मन्त्री ज्ञवालीले विवादित विषय सुगौली सन्धिअनुसार नै समाधान हुनुपर्छ भन्नेमा नेपाल अडिग रहेको बताउनुभयाे । यो विषयमा भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि कोरोना भाइरसको संक्रमण रोकिएसँगै परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने कुरा दोहोऱ्याएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले कूटनीतिक तवरबाटै समस्या समाधान गरिने जानकारी दिनुभयाे ।

प्रकाशित मिति : 11:36