१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

काण्डै काण्डले जेलिएको नुवाकोटमा ‘घोरल काण्ड’, अनुत्तरित प्रश्न पेटमा हरायो कि वनमा ?


२६ वैशाख, नुवाकोट । अनेक काण्डले चर्चित हुने नुवाकोट अहिले ‘घोरल काण्ड’ले चर्चामा रहेको छ । जिल्ला वन कार्यालय नुवाकोटका सूचना अधिकारी लोकनाथ न्याैपानेले शुक्रबार विज्ञप्ति प्रकाशित गरेपछि ‘घोरल काण्ड’ले झन बढी चर्चा पाएको छ । हिमाली बाख्रोको उपमा पाएको घाइते अवस्थामा रहेको घोरल मध्यरातमा फलामको खोर भत्काएर भागेको भनेर उल्लेख गरिएको छ । यसै पनि घाइते रहेको उक्त घोरलले कसरी फालामको बार भत्कायो होला ? अर्को कुरा मुस्किलले त्यहाँभित्र अटाएको घोरलले सिंगाैरी खेल्ने अवस्था पनि छैन । तर मध्यरातको १० बजे समय ने तोकेर घोरल भागेको सूचना वन कार्यालयले दिएको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको भद्रुटारमा अलपत्र अवस्थामा रहेको घोरल उद्धार गरेर जिल्ला वन कार्यालयमा बुझाएको केही घण्टामै घोरल वेपत्ता पारिएको थियो । स्थानीय श्याम पाण्डेका अनुसार भद्रुटारको त्रिवेणी धाम नजिकै घोरल फेला पारेपछि स्थानीयले उद्धार गरेर विदुरमा रहेको जिल्ला वन कार्यालयमा लेगेर बुझाएका थिए ।

तर बुझाएको केही घण्टामै रहस्यमय रूपमा घोरल वेपत्ता पारिएको उनीहरूले गुनासो गरेका छन । उनीहरूले घोरल कर्मचारीकै मिलेमतोमा वेपत्ता भएको गुनासो गरेका छन । वन कार्यालयका कर्मचारीले कुनै जवाफ समेत दिन नसकेको स्थानीयले बताएका छन । उनीहरूको कर्मचारीले घोरल हरायो भन्ने बहाना बनाएर मासु खाएको आशंका गरेका छन । उनीरूको प्रश्न छ त्यो घोरल वनमा गयो कि कर्मचारीको पेटमा ? जवाफ दिनुपर्छ ।

घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । यसलाई कतै कतै “घोर”, “घोड” आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।

घोरलको काँधको उचाइ ६५ देखि ७० सेन्टिमिटर हुन्छ। तौल २५ देखि ३५ किलोग्राम हुन्छ। घोरलको घाँटीको तल्लो भाग सेतो रङको हुन्छ। घोरल बाख्रा प्रजातिमा पर्छ। नेपाली अनुसन्धानकर्ताहरूले यसलाई हिमाली बाख्रा भनेका छन्। यसको अंग्रेजी नाम हिमालयन घोरल र वैज्ञानिक नाम निमोरहेड्स गोरल हो।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार २१:३३