विदेशमा अलपत्र परेका नेपालीहरूकाे उद्धार र राहतको लागि सरकारले पहल गर्नुपर्छः पुर्वमन्त्री विष्ट
२६ वैशाख, काठमाडाैँ । पुर्वमन्त्री गाेकर्ण विष्टले विदेशमा अलपत्र परेका नेपालीहरूकाे उद्धार र राहतको लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । पुर्वमन्त्री विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली श्रमिकहरू काेराेनाका कारण जोखिममा रहेकाे बताएका छन् ।

करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, भिजिट भिषाकाे म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा रहेकाे बताउँदै पुर्वमन्त्री विष्टले कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घटनाहरू समेत देखा परेका उल्लेख गरेका छन् ।
विभिन्न देशमा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको भन्दै उनले परदेशमा रगत-पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरूकाे उद्धार र राहतको लागि सरकारसँग आग्रह गरेका छन् । उनले सहारा यस्तो अवस्थामा रहेका नेपालीहरूकाे उद्धार गरी नेपाल ल्याउन र नेपाल नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन सरकारले अविलम्ब प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति : 12:18









