१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

कोरोनाकाे महामारीले भयावह रुप लिन सक्दछ, सर्तकता अपनाऔँः प्रधानमन्त्री ओली

२५ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाकाे महामारीले भयावह रुप लिन सक्ने भन्दै सतर्क रहन आग्रह गर्नुभएकाे छ । २५६४औँ बुद्धजयन्तीकाे उपलक्ष्यमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्याएको बताउनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले काेराेना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गइरहेकाे र त्यसबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दो भएकाे भन्दै दुःख व्यक्त गर्नुभयाे । कोरोना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँले संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएकाे ।

सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह नभएकाे स्मरण गराउँदै उहाँले काेराेना रोकथाममा सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्ने बताउनुभयाे ।

सम्बाेधनकाे पुर्णपाठः

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !
आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन । एकै दिन र एकै तिथिमा परेको हुनाले सबै हिसाबले हामी यस दिनलाई संक्षिप्तमा बुद्ध जयन्ती भनेर मनाउँछौं । संयुक्त राष्ट्र संघले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरुको कदर गर्दै आजको दिनलाई वैशाख दिवस का रुपमा मनाउने गरेको छ । वैशाख डे जसरी धुमधामसँग विश्वव्यापी रुपमा मनाइने गरिन्थ्यो, विश्वस्तरमा सम्मेलन गरेर मनाउने गरिन्थ्यो, यस वर्ष कोरोना भाइरसको महामारीले त्यस रुपमा मनाउन सकिने अवस्था रहेन ।

फेरि पनि यस अवसरमा म महामानव, जसलाई मानव जातिले भगवान बुद्धका रुपमा मान्ने गरेको छ, उहाँप्रति अत्यन्तै आदर, सम्मान र श्रद्धासुमन अर्पण गर्न चाहन्छु । आज विश्व शान्तिको चाहनामा तड्पिरहेको छ र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेका छन् ।
हाम्रो देशमा केही दिन अघि मात्रै फेरि पनि चार जना निर्दोष बालबालिकाहरु बम विस्फोटको अचानक शिकार भएर आफ्नो ज्यान गुमाउन बाध्य भए । म उनीहरुप्रति अत्यन्तै संवेदनशील भावका साथ श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्याएको छ । संक्रमितहरुको संख्या बढ्दो छ र त्यसबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दो छ । यस दुःखद घडीमा म कोरोना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु । र, संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।

यस घडीमा म गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं भन्ने आग्रहका साथ दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि म सबै दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह र अनुरोध गर्दछु ।
धन्यवाद !

प्रकाशित मिति : 09:02