६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

खोलाले मोटरसाइकल बगाउँदा युवकको मृत्यु

२४ वैशाख, हेटौँडा । मकवानपुरमा बाढीले मोटरसाइकल बगाउँदा त्यसमा सवार एक युवकको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ इपादेउरालीका २३ वर्षे सन्तोष भनिने कृष्ण खनालको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मृतक खनाल काठमाडौँको कालिमाटीमा तरकारी व्यवसाय गर्ने गर्थे ।

फाइल तस्वीर

लामो समयको लकडाउनका कारण इपादेउरालीमा रहेको घर फर्किएका उनीलाई मोटरसाइकलमा स्थानीय कोगटे खहरेले मोटरसाइकलसहित बगाएको थियो । गए राति काठमाडौँबाट बा४४प ६०५८ नंको मोटरसाइकलमा घर आउँदै गरेका खनाललाई भारी वर्षापछि आएको खहरेले मोटरसाइकलसहित बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 6, 2020 at 1:08 pm