६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

दृष्टिविहीन शर्माद्वारा ५१औँ पटक रक्तदान

२३ वैशाख, विराटनगर । दृष्टिविहीन एक पुरुषले ५१औँ पटक आज यहाँ रक्तदान गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराटनगर–११ कमिटीद्वारा आयोजित रक्तदानमा विराटनगरका ४२ वर्षीय चिरञ्जीवी शर्माले उक्त रक्तदान गर्नुभएको हो । शर्माले तीन महिनाभित्र खेर जाने रगतले समुदायमा रहेका बिरामीलाई प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउँदै मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले रक्तदान दान जीवन दान भएकाले कोभिड–१९ को महामारीमा रक्तदान कम भइरहेको यस समयमा रक्तदान कार्यक्रमको आयोजनाबाट सामाजिक कार्यमा ठूलो कार्य गरेको विचार राख्नुभयो । उहाँले अशक्त रोगी तथा बिरामीको सेवाका लागि प्रत्येक तीन/तीन महिनामा रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका संयोजक ममता प्रधान, वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, नेकपा जिल्ला सञ्चार प्रमुख मणि दाहाल र यातायात सङ्घका अध्यक्ष राजन कँडेलले समाजसेवा, गरिब तथा विपन्नको सेवामा पार्टीको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । रक्तदानमा महिला र पुरुष गरी ५० जनाले एक÷एक पिन्ट रगतदान गर्नुभएको थियो ।

प्रकाशित मिति : May 5, 2020 at 3:33 pm