२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

सीमामा हुलहुज्जत गर्ने भारतीयलाई धपाउन हवाई फायर

२३ वैशाख, भद्रपुर । बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् । झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त गाउँमा सोमबार अपराह्न ४ः३० बजेतिर १५० भन्दा बढीको सङ्ख्यामा घरेलु हतियारसहित नेपाली सुरक्षा चौकीमा आएका भारतीय नागरिकलाई धपाउन अस्थायी सीमा सुरक्षा चौकीमा तैनाथ नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेको गाउँपालिकाका अध्यक्ष जयकुमार साहले बताउनुभयो ।

उहाँका अनुसार दिउँसो दुई भारतीय नागरिक नेपाल पस्न खोज्दा सुरक्षाकर्मीले सम्झाइबुझाई फिर्ता पठाएका थिए । केहीबेरपछि सयौँको सङ्ख्यामा भारतीय घरेलु हतियारसहित नेपालतिर पस्न खोजेका थिए । हवाई फायरपश्चात भारतीयहरु तितरवितर भएर आफ्नै मुलुकतिर फर्किएको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कोभिड–१९ को सङ्क्रमण रोक्न सीमा क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द गराइएको जनाउँदै अटेर गरी हुलहुज्जत गर्नेलाई रोक्न हवाई फायर भएको बताउनुभयो । घटनापछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 5, 2020 at 11:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/