६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

विकास निर्माणका कामलाई गति दिँदै अन्नपूर्ण गाउँपालिका

२२ वैशाख, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका कामलाई गति दिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि जारी बन्दाबन्दीका बाबजुद सामाजिक दूरी कायम गरेर सुरक्षा अपनाउँदै विकास निर्माण काम अघि बढाइएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्र २० वटा खानेपानीका योजनाको काम बढिरहेको छ । जसका लागि गाउँपालिकाले रु दुई करोड ५० लाख विनियोजन गरेको छ ।

गाउँपालिकाका ५१ वटा ग्रामीण सडक निर्माणका योजना सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले त्यसका लागि रु सात करोडभन्दा बढी रकम विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयका पाँचवटा भवनका साथै स्वास्थ्य संस्थाका चारवटा भवन निर्माण पनि भइरहेको छ । जसमध्ये वडा भवनका लागि रु चार करोड र स्वास्थ्य भवनका लागि रु दुई करोड छुट्याइएको छ । अन्य कृषिलगायतका विभिन्न क्षेत्रमा पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

“बन्दाबन्दीका बाबजुद कृषि तथा विकास निर्माणका कामका लागि प्रदेश सरकारले केही खुकुलो गरिदिएपछि काम अघि बढाउन अझै सहज भएको छ”, अध्यक्ष कुँवरले बन्नुभयो, “सरकारले तोकेको सामाजिक दूरीलगायतका आधारभूत कुरालाई ध्यानमा राख्दै काम अघि बढाएका छौँ ।”

गाउँपालिकाले बन्दाबन्दीका कारण प्रभावित विपन्न मजदुरलाई राहत उपलब्ध गराउन खाद्यान्न भण्डारण गरिसकेको जानकारी दिँदै उहाँले राहतसँगै उनीहरूलाई सामाजिक काममा लगाउने नीति लिइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 4, 2020 at 3:20 pm