इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिको सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा
२२ वैशाख, मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबापतको रकम स्वेच्छिकरुपमा ‘कोभिड– १९ सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्ने भएका छन् । वैशाख २१ गते आइतबार गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको ४६ औँ गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ र उपाध्यक्ष मिरा लामा अधिकारीसहित १२ वटै वडाका वडाध्यक्ष तथा सदस्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाइएको छ ।

गाउँपालिकाभित्र कार्यरत शिक्षक तथा कर्मचारीको हकमा अधिकृतस्तरकाले पाँच र अन्यले तीन दिनको तलब पालिकाले स्थापना गरेको सो कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । कोषमा जम्मा हुने रकम कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकताका आधारमा खर्च गरिने गाउँपालिकाले जनाएको छ । यसैगरी गाउँपालिकाका विभिन्न विषयगत समितिमा पुनरावलोकन गरी सदस्यको पूर्णता दिनुका साथै सामुदायिक विद्यालयमा छिटोछरितो माध्यमबाट विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र खाद्य तथा पोषण सुरक्षा आयोजनासँगको समन्वय र सहकार्यमा गाउँपालिकाभित्रका सम्पूर्ण कृषकलाई वर्षायाममा लगाउन मिल्ने उन्नत जातको खाद्यान्न तथा तरकारी बालीको बीउबिजनसमेत वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति : May 4, 2020 at 1:20 pm





