६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बनेपामा एक हजार पाँच सय लिटर घरेलु मदिरा नष्ट

२२ वैशाख, बनेपा । बन्दाबन्दीका बेलामा पनि बनेपाका विभिन्न बजार क्षेत्रका लुकीछिपी सञ्चालन गरिएका भट्टी पसलबाट घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेको छ । बन्दाबन्दीको समयमा बनेपाको भित्री बजार क्षेत्रमा व्यवसायीले लुकेर भट्टी पसल सञ्चालन गरेको पाएपछि गरिएको अनुगमनका क्रममा एक हजार ५०० लिटर घरेलु मदिरा बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो ।

फाइल फाेटाे

उहाँका अनुसार बनेपाको चैतन्यचोक, विद्युत् प्राधिकरणचोक, बनेपा नगरपालिका पछाडिका गल्ली र बनेपा पुरोना बजार क्षेत्रका भट्टी पसलेले लुकीछिपी सञ्चालन गरेको पाइएका कारण मदिरा बरामद गरी नष्ट गरिएको हो । आइतबार बनेपा नगरपालिका–९ का वडाध्यक्ष शेरबहादुर सुवालको रोहबरमा मदिरा नष्ट गरिएको हो ।

भट्टी पसल सञ्चालकलाई भने त्यसरी अनधिकृतरुपमा मदिरा बिक्री वितरण नगर्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीको बेलामा भट्टी पसल सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : May 4, 2020 at 11:25 am