भारतमा कोरोनाबाट १३ सयको मृत्यु, ४० हजार संक्रमित
२१ वैशाख, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् । भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् ।। भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ । गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २६२ जनाको मृत्यु भएको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ ।
एक हजार २५६ जनाको उपचार गरिएको छ ।त्यसैगरी मध्यप्रदेशमा २ हजार ८४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६२४ जना ठीक भएका र १५१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४८७ जनामा कोरोना देखिएकामा ६८९ जना निको भएका छन् । भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४९९ जनामा कोरोना संक्रमण देखिएको छ ।
भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २१ बैशाख २०७७, आईतवार १२:५६