३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै


१८ वैशाख,जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ । महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिनुभएको हो । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ ।

यस बीचमा कोविडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन । गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो ।

त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार १३:१८

https://srdb.com.np/