२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

नेपाली कम्युनिष्टहरूको टुटफुटको क्रमभङ्गता र विश्वव्यापी सन्दर्भ

–आर.पी. गजुरेल
१९२२ को अन्त्य तिर सोभियतको स्थापना भएपछि १९९० को दशकसम्म विश्व दुईवटा ध्रुवमा विभाजित थियो । जब २५ डिसेम्वर १९९१ मा सोभियतमा हसिया र हतौडासहितको झण्डा क्रेमलिनमा अन्तिम पटक फहरायो र सेतो, निलो र रातो रंगको झण्डाद्वारा विस्थापन भयो तब यस्तो भिमकाय सफलतामा मिखाइल गोर्वाचोभलाई निमित्त बनाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरी सिआइए र अमेरिकी शासकले देश भरी दिपावली ग¥यो । गोर्वाचोभले राजिनामा दिए र अमेरिकी प्रजातान्त्रिक मतियारका रुपमा वोरिस एल्सरिनलाई सत्ता सुम्पियो ।

अमेरिकी प्रध्यापक गोराल्ड सुरम्यानले अमेरिकी प्रजातान्त्रिक सहयोगको दन्त्य कथामा लेखे जस्तै १९४० र ७० को दशकसम्म सिआइएले गोप्य रुपमा २४ वटा मध्यपूर्व र पूर्वी युरोपमा आफू समर्थित नेताहरुलाई सत्तासिन गर्न चाहन्थो जुन सोभियतमा सार्थक भएपछि सतहमा छताछुल्ल पोखियो, जुन आज खुला रुपमा यत्रतत्र वितत् छ । १९९६ को रुसी राष्ट्रपति निर्वाचनमा अमेरिकाले कम्युनिष्ट पार्टीका उम्मेद्वारा गेन्नाडी ज्यूगानोभलाई हराउन र वोरिस एल्सरिनलाई जिताउन जसरी अन्तर्राष्ट्रिय मुद्रा कोष, सिआइए र उनीहरुका खुफियाहरु प्रजातान्त्रिक सहयोगका नाममा कार्यालय स्थापना गरेर स्टाइलिनका क्रुरतायुक्त भिडियोहरु तथा अरबौं डलर मार्फत हस्तक्षेपमा उत्रियो, यो नाङ्गो नाच ढाकछोप गर्न हम्मेहम्मे परेको थियो । पुँजीगत वा रणनीतिक वस्तुहरु (गन) र उपभोक्ता वस्तु (बटर) निर्माण गर्न रसियालीहरु अर्थतन्त्र केन्द्रीत भएकाले परिणामस्वरुप कमजोर जीवनस्तरका कारण राष्ट्रिवादी आन्दोलनले सोभियत पतन भएको भनेर आफ्नो अङ्गार पोतिएको कालो अनुहारलाई धोइपखाली गर्यो ।

अमेरिकी हस्तक्षेप, प्रजातान्त्रीक सहयोग र आन्तरिक कलह तथा विविध वैचारिक तथा व्यक्तिगत अहम्ताका कारण विश्वमा कम्युनिष्ट पार्टीहरुले टुटफुटको नमिठो अनुभवको इतिहास खडा गरेका छन् । यहाँ रसिया, चीन, भारत तथा नेपालको कम्युनिष्ट पार्टीहरुको टुटफुटको इतिहासलाई पल्टाउने कोसिस गरिएको छ ।

रसियन सोसल डेमोक्राटिक लेबर पार्टीः टुटफुटको सन्दर्भ
कम्युनिष्ट पार्टीको टुटफुटको इतिहासललाई हेर्दा विश्वको पहिलो परिस्कृत र ठूलो इतिहास बोकेको रसियन सोसल डेमोक्राटिक लेबर पार्टीलाई हेर्न सकिन्छ । २० औं शताब्दीको ठूलो कम्युनिष्ट पार्टीको रुपमा रहेको यो पार्टीको पनि सामान्य मतभेदमा विभाजन भएको तितो इतिहास पाइन्छ । १९०२ मा लेनिनद्वारा एउटा प्रचा (What is to be done?) मार्फत पार्टी, संगठन, क्रान्ति तथा सदस्यातासम्बन्धी विविध विचारहरु पस्केका थिए । जसमा पार्टी सदस्यता तथा संगठन सम्बन्धि विचारहरुमा मतभेद भई पार्टी विभाजन समेत हुन पुग्यो । अगष्ट १९०३ मा पार्टी कंग्रेसको दोस्रो बैठकमा यसमा मतदान हुँदा युवाहरुले लेनिनलाई समर्थन जनाए भने लेनिनका प्रमुख प्रतिद्वन्द्वी जुलियस मार्तोभले यसको प्रतिवाद गरे । २४ जनाको बहुमत सदस्य भएको लेनिन नेतृत्वलाई बेल्सेभिक (बहुमत) र २० जनाको अल्पमतलाई मेन्सेभिक (अल्पमत) को रुपमा विभाजन गरियो ।

त्यसैगरी १९१३ मा सोभियत सोसल डेमोक्राटिक लेवर पार्टीको तेस्रो विभाजनको रुपमा ट्रस्की सहितको मेजरियोनस्कीको रुपमा अर्को एउटा पार्टीको उदय भयो । अन्ततः यो १९१७ मा वेल्सेभिकसँग एकीकरण भयो । १९०५ देखि १९०७ सम्म मार्तोभ, प्लेखानोभ, ट्रस्की जस्ता बौद्धिक व्यक्तिहरुको सहयोगले मेन्सेभिक सहरी कामदारहरुको व्यापक समर्थन बटुल्न सफल भयो । लेनिनको काराबास फिर्ति पछि प्रथम विश्वयुद्धका धारणाहरुमा मतभेदहरु सिर्जना भई अन्ततः वेल्सेभिकले बहुमत सोभियतको समर्थन र सहकार्य प्राप्त गर्यो ।

लेनिनले रसियाली क्रान्तिलाई युरोपको प्रस्तावना बनाउन चाहन्थे तर ट्रस्की जस्ता अन्तर्राष्ट्रियवादीहरु प्राप्त प्रतिफललाई जोगाउन नलागेर पेरिस कम्युनको पतनको प्रस्तावना बनाउन युरोपभरी एकसाथ आक्रमण र खुला सदस्यता सहितको अराजक पार्टी निर्माण गर्न चाहन्थे । यि कुराहरुबीचको द्वन्द्वले नै टुटफुटको कथानक र टिठलाग्दो प्रहसन मञ्चन गरेको पाइन्थ्यो । सोभियतको पतनपछि आज त्यसैले होला फ्रान्सिस फुकुआमाहरु इतिहासको अन्त्यको कथा लेखिरहेका छन् ।

चीनीया कम्युनिष्ट पार्टीः टुटफुटको सन्दर्भ
चीन विभाजनका लागि जब २८ जुन १९१९ मा ठूलो तामधामका साथ फ्रान्समा सन्धि हुँदै थियो त्यसैको प्रतिरोध स्वरुप सांघाइमा ७० हजार मजदुरहरुले हडताल गरे र विदेशी मालसामानको उपभोगलाई निषेध गरे, जसले साम्राज्यवादी विरोधी लहरहरुमा उभार ल्यायो । १९१७ को रसियाली अक्टोबर क्रान्तिले चीनी जनताहरुलाई दमन, शोषण र राष्ट्रिय अपमानहरुका विरुद्ध एक हुन झस्काइरह्यो । यही पृष्ठपोषणले माओमा माक्र्स र क्रान्तिको भूत चढिरहेको थियो ।

१९२० को अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सहयोगमा १९२१ जुलाई २१ मा चीनमा गुप्त रुपमा चीनीया कम्युनिष्ट पार्टीको सम्मेलन हुँदा माओले हुनानबाट प्रतिनिधित्व गरेका थिए । जुन सम्मेलनले १२ सदस्यीय समिति बनाउँदा उनी सदस्यको रुपमा चयन भए भने चेन तु–श्यू पार्टीको महामन्त्री निर्वाचित भए । १९२२ को अक्टोबर तिर उनले ४००० निर्माण मजदुरहरुको हड्तालको नेतृत्व समेत गरे । १९२७ अप्रिलमा च्यांग काई शेक र वाङ चि वई बीच कम्युनिष्ट विरुद्ध अमेरिका, बेलायत र जापानका सेनाहरुलाई बोलाई ध्वस्त पार्ने सम्झौता गरे तब कम्युनिष्टहरु विद्रोहको खास चरणमा प्रवेश गरे ।

जब माओले कृषि क्रान्तिको अवधारणा पाँचौ कंग्रेसमा राखे चेन तु–श्यूको बहुमत सदस्य रहेको कमिटीले प्रस्ताव अस्विकार ग¥यो । परिणामस्वरुप दुईधार संघर्षको सुत्रपात भयो । यही समयबाट पार्टीमा द्वन्द्वको विजारोपण भयो । माओले त्यसपछि तु–श्यूको समपर्णवादलाई बन्दुकको नालबाट सत्ता जन्मने विचारमार्पmत घातक ढंगले प्रहार गरे । चेन तुश्यूले क्रान्ति छाडेर संसदिय मार्ग अपनाउन जोड दिए र पार्टिलाई कोमिन्ताङको पुच्छर बनाउने अभिष्ठमा धकेले जुन द्वन्द्व सतहमा आयो र पार्टी विभाजनको अवस्थामा समेत पुग्यो । जब माओ प्रहरीको कब्जाबाट उम्कन सफल भए त्यसपछि भने उनी नयाँ डिभिजनको युद्ध समितीमा सचिव भए र अन्तत मस्कोमा भएको छैटौं सम्मेलनले चु चु पाइको महामन्त्रीत्वमा कम्युनिष्ट पार्टीको क्रान्तिकारी धारलाई स्थापित गर्यो ।

हुनानी क्रान्तिमा कमाण्डर माओ र चु तेहलाई टाउकोको मूल्य तोकी १० हजारको पुरस्कारको घोषणा भएपछि माओका परिवारहरु समेत राज्यको शिकार भए । जापानी हमलाले कोमिन्ताङका देशभक्तहरुलाई १९३१ सेप्टेम्बरमा कम्युनिष्ट किल्लामा गोलबन्द ग¥यो । १९३१ नोभेम्बरमा माओ केन्द्रीय सोभियतको अध्यक्ष र चु तेह सेनाको कमाण्डरको रुपमा नियुक्त भए । यस अवस्थामा पार्टीमा रुसवादी प्रभाव बढ्न थाल्यो । वेल्सेभिकवादीहरुले चीनीया कम्युनिष्ट पार्टीमा मजदुर र किसान तथा गाउँ र सहरको युद्ध रणनीतिबीच संघर्षमा होमिन बाध्य पार्यो ।

पार्टीको नवौं महाधिवेशनले माओलाई अध्यक्ष बनाएपछि दशौं महाधिवेशनमा चेन पोता र प्याओले क्रान्तिकारी विद्रोहका नाममा ५७१ को योजनामार्फत हत्या गर्ने समेत प्रयास गरेको पाइन्छ । यसले पार्टीभित्रको सघन संघर्षलाई देखाउँछ । यसरी चिनीया कम्युनिष्ट पार्टीमा पनि विभिन्न स्वरुपका टुटफुटहरु देखापरेको थियो वैचारिक र सांगठनिक रुपमा कम्युनिष्टहरुको धोकेबाजीको इतिहास यी विविध घटनाक्रमले प्रष्ट पार्दछ ।

भारतीय कम्युनिष्ट पार्टीः टुटफुटको सन्दर्भ
भारतीय कम्युनिष्ट पार्टीको विभाजनको दुखान्त कथा पनि बढो चाखलाग्दो छ । १९२० मा एम.एन. राय र अम्बानी मुखर्जी जस्ता दुई व्यक्तिको प्रयासले भारतीय कम्युनिष्ट पार्टीको स्थापना भयो । तर लगत्तै यी दुई बीचको तितो शत्रुतापूर्ण साढेँ जुदाईले क्षणभर मै भारतीय कम्युनिष्ट पार्टीमा विभाजनका रेखाहरु कोरिए, जसले पार्टीमा असल नेतृत्वको खडेरी सिर्जना गर्यो ।

१९४२ मा कम्युनिष्ट पार्टीले जर्मनका विरुद्ध सोभियतको रक्षार्थ अंग्रेजको सहयोग लिने अदुरदर्शीता अपनायो त्यसले पार्टीलाई नमिठो दुर्गन्धमा मिलायो, जहाँ कांग्रेसहरु भारत छोड आन्दोलन गर्दै थिए । यसले पनि पार्टीमा वैचारिक मतभेदहरु बढायो । १९४४ जुलाईमा कलकत्तामा मजदुरहरु तथा बंगालमा ७० लाख किसानहरुको आन्दोलनले भारतमा अंग्रेज विरुद्धको क्रान्तिकारी उभार र विद्रोहचेतको सुत्रपात भयो । १९४७ मा भारत विभाजन भएपछि क्रान्तिकारीहरु विद्रोहको मोर्चामा अझै घनिभूत भए ।

नक्सलवाडी क्षेत्रमा १९५१ पछि चारु मजुमदार र कानू सन्यालको क्रान्तिकारी सांगठनिक क्रियाकलापहरु देखा पर्न थाले । १९५६ मा पार्टीको चौथो महाधिवेशन भयो, जुनबेला पार्टी दुई भागमा विभाजन भयो । प्रगतिशील धार र बुर्जुवा धारको रुपमा पार्टीको नमिठो विभाजन भयो । मध्यमपन्थि धारको नेतृत्व गर्ने अजय घोषको संयोजकत्वमा केन्द्रीय कमिटि बन्यो । १९५८ को पाचौं महाधिवेशनमा भने पार्टी माथिदेखि तलसम्म संयुक्त जनवादी मोर्चाको क्रान्तिकारी धार र राष्ट्रिय जनवादी मोर्चाको प्रगतिशील बुर्जुवा र नेहरु सरकारको समर्थक गरी दुई भागमा विभाजन भयो ।

१९५८ मा भारत–चीन सीमा विवादको समयमा कांग्रेसी अन्धराष्ट्रवादले भारतमा ठूलो भड्काव सिर्जना गर्यो । १९६१ को पार्टीको छैटौं महाधिवेशनमा चारु मजुमदारका क्रान्तिकारी धार बैठकमा उपस्थिति जनाउन आनाकानी गर्यो । उनीहरुले खुश्चेववादीहरुको विरुद्ध समानान्तर पार्टी कमिटी निर्माण गर्ने पक्षमा उभिए । १९६२ को भारत–चीन युद्धको पृष्ठभूमिमा स्टाइलिनवादी सरोज दत्त र मध्यमपन्थी ज्योती वसु तथा चिनीया पक्षमा चारु मजुमदार बीचमा पार्टीमा ठूलो संघर्ष र मनमुटाव सुरु भयो । जसको प्रत्यूत्पादक असर १९६४ को सातौं महाधिवेशनमा विभाजनको बहसको रुपमा देखा पर्यो । उक्त समय भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) गरी दुई भागमा पार्टी विभाजन भयो । यो विभाजनको मुख्य कारण नै राजनीतिक धार कुन हु्ने भन्ने नै थियो ।

ज्ब १९६६ मा चारु मजुमदार जेलबाट मुक्त भए त्यसपछि नक्सलवाडी क्षेत्रमा सशस्त्र विद्रोह सञ्चालन गर्ने कुरामा सबै स्थानीय कमिटीहरु सहमत भए । माक्र्सवादी कम्युनिष्ट पार्टीको संरचना ध्वस्त बनाई सशस्त्र विद्रोहको आधार तथा लडाकु तयार गर्ने पार्टी भित्र पार्टी बनाउने प्रयास भयो । यसै आधारमा १९६७ को मे ८ मा नक्सलवाडी विद्रोहको सुत्रपात भयो । त्यसपछि भाकपा (माक्र्सवादी) बाट १९६८ मे १३ मा अखिल भारतीय कम्युनिष्ट क्रान्तिकारी समन्वय कमिटीको गठन भयो । १९६९ मा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) को रुपमा अर्को एउटा विभाजन देखा प¥यो । पहिलो कंग्रेसपछि यसबाट पनि मजुमदारको विरुद्ध सुशितल राय चौधरीले हात झिके उनले दीर्घकालीन जनयुद्ध र केही ध्वंसप्रति असन्तुष्ट जनाई १९७० मा पार्टी छोडे ।

त्यसैगरी १९७१ मा सत्यनारायण सिंहले पार्टीलाई विभाजन गरी समानान्तर समितिमार्फत महासचिव बने । चारु मजुमदारको १९७५ सम्म शक्तिमा नक्सलवाडी देखापर्ने आशयलाई विभाजनले नराम्ररी धोका दियो । जुलाई १६, १९७२ मा चारुको निधन पछि कम्युनिष्ट क्रान्तिमा ठूलो क्षति पुग्यो । नक्सलवाडीको रुपमा माओवादीले क्रान्तिलाई अघि बढाए पनि यिनीहरुमा समेत विभाजनका दरारहरु देखिन थालेका छन् । यसरी हेर्दा भारतीय कम्युनिष्ट पार्टीमा पनि विभाजनको ठूला घटनाहरु देखिन्छन् । आज केही संसदीय अभ्यासमा र ६ दशकदेखि नक्सलवाडीहरु आजपर्यत्न पनि युद्धमा होमिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीः टुटफुटको सन्दर्भ
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना १९४९ सेप्टेम्बर १५ मा कलकत्तामा भएको हो । जसको नेतृत्व पुष्पलाल श्रेष्ठले गरेका थिए । जसमा नर बहादुर कर्माचार्य, निराजन गोविन्द वैद्य र नारायण विलास जोसी महत्वपूर्ण सदस्यहरु थिए । राणा शासनको विरुद्धमा कांग्रेससँग मिली तत्कालीन समयमा उनीहरुले प्रजातान्त्रका लागि ठूलो योगदान पुर्याएका थिए ।

१९५० को क्रान्तिले राणाहरुलाई सत्ताबाट फालेपछि खुला रुपले पार्टी सञ्चालन गर्न सकिने अवस्था भए पनि यो त्यती लामो समयसम्म टिकेन । राजा महेन्द्रको उदयपछि नेपाली राष्ट्रिय कांग्रेसको सरकारलाई अपदस्त भई राजनीतिक गतिविधीमा पूर्णविराम लागाएको अवस्थामा १९६० पछि भने कम्युनिष्ट पार्टीमा विभाजनको सिलसिला सुरु भयो । राजतन्त्रको बारेमा नेताहरुमा मतभेद देखिन थाले जसले पार्टीलाई विभाजनको मुखमा धकेल्यो । पुष्पलाल, मनमोहन अधिकारी तथा उनका सहयोगीहरु राजालाई पछि हटाउन १९७१ मा भारतीय सहयोगका लागि र कांग्रेससँग सहकार्य गरी प्रजातन्त्र ल्याउने पक्षमा उभिए । मोहन विक्रम, मनमोहन अधिकारी, निर्मल लामा, राधकृष्ण मैनाली, सी.पी. मैनाली र मोहनचन्द्र अधिकारी जस्ता व्यक्तिहरु राजाका विरुद्धमा उभिए । विशेषगरी मैनाली दाजुभाई, मोहनचन्द्र अधिकार र रामनाथ दाहाल नक्सलवाडी चारु मजुमदारबाट प्रभावित थिए । उनीहरुले १९७१ मा सशस्त्र आक्रमणलाई सुत्रपात गरी कयौं जमिनदार, वर्ग दुश्मनहरुलाई भौतिक कारबाही समेत गरे । यसैलाई झापा विद्रोहको रुपमा समेत लिने गरिन्छ ।

अर्कोतर्फ केशरजंग रायमाझी र उनका केही समूह राजसँग सहकार्य गर्ने र नयाँ राजनीतिक प्रणाली विकास गर्ने कुराको वकालत गर्दथे । यही तात्कालिक कारणहरुबाट नै कम्युनिष्ट पार्टीको विभाजनको सुरुवात हुन पुगेको देखिन्छ । यसको पटाक्षेप १९६१ को पाटना प्लेनमबाट नेपाल कम्युनिष्ट पार्टी दुई धारमा विभाजन भयो । रायमाझीहरु राजासँग हात मिलाउन गए ।

यसैगरी दरभंगामा भएको प्लेनमले संवैधानिक राजवादी धारका रुपमा रायमाझी संसद पुनस्थापना र आम हड्तालवादीका रुपमा पुष्पलाल र संविधान सभावादी मोहन विक्रमको रुपमा पार्टी तीन धारमा विभाजन भयो । १९६२ मा एउटा अर्को भाग वानारसीमा तुलसीलाल अमात्यको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्रिक क्रान्ति समूहको रुपमा पार्टी घोषणा भयो । तेस्रो महाधिवेशनको वैधानिकतामा प्रश्न उठेकाले रायमाझी र अमात्यका रुपमा दुई समूह कम्युनिष्ट पार्टीमा देखा परे । यही वैद्य÷अवैद्यको खेलले पार्टीलाई साधुराउँदै गयो । यसले धेरै अन्य समूहहरुमा पार्टीलाई विभाजन गर्ने कारकको भूमिका खेल्न गयो । यसबीचमा कम्युनिष्ट पार्टी – पुष्पलाल, माक्र्सवादी, माक्र्सवादी–लेनिनवादी, चौथो महाधिवेशन, एकता केन्द्र, मजदुर–किसान, रोहित, माक्र्सवादी–लेनिनवाद–माओवाद, मशाल, मसाल, मानन्धर, वर्मा आदिको समूहमा विभाजन भयो । त्यसैगरी १९७८ मा मालेको उदय भयो ।

१९७२ मा राजा महेन्द्रको निधन र १९८२ मा विपिको निधनपछि भने नेपालमा कम्युनिष्टहरु अलि लोकप्रीय हुँदै गए । १९८५ मा बहुदलिय प्रजातन्त्रको स्थापनालाई कम्युनिष्ट पार्टीले जनसंगठनहरु निर्माण गर्न थाले । १९८५ को जनआन्दोलनमा अन्य कम्युनिष्ट समूहहरु विपक्षमा उभिए पनि पुष्पलाल समर्थित मनमोहन अधिकारी र साहाना प्रधान समूहले व्यापक समर्थन गरेको थियो । १९८९ मा प्रचण्ड समूह आन्दोलनको विपक्षमा उभियो भने अन्य विभिन्न ९ समूह आन्दोलनमा सहभागी भए । वामपन्थी समूहको रुपमा यिनीहरुले जनआन्दोलनमा कांग्रेससँग सहकार्य गरे ।

१९९० को जनआन्दोलनको सफलतापछि पुष्पकमल दाहाल समूह नेकपा (एकता केन्द्र) बाट बाहिरियो । उनीहरुले संयुक्त जनमोर्चाको रुपमा अर्काे समूह बाबुराम भट्टराईको नेतृत्वमा गठन गरे । १९९० मा नेकपा माक्र्सवादी समूह वैधता पाए भने १९९१ मा माले समूह वैध भए जुन अहिलेको एमालेको पृष्ठभूमि हो । यद्यपी नेकपा (मसाल) बाहेकको सम्पूर्ण – प्रचण्ड, बाबुराम सहितको समूह आम निर्वाचनमा भाग लियो । मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी) स्वंयले नेकपा (माले) विघटन गरी नेकपा (एमाले) को निर्माण गरे ।

बाबुरामको जनमोर्चा र प्रचण्डको नेकपा एकीकरण भई १९९५ मा नेकपा (माओवादी) को रुपमा जनयुद्धको घोषणा गरे । १९९४ मा नेकपा (एमाले) ले सरकार गठन गरी राजवादी लोकेन्द्र बहादुर चन्द समूहलाई समेत सामेल गरायो । यसबीचमा पनि वामपन्थी बाटोबाट भागेको आरोप लगाई रुपलाल विश्वकर्मा नेतृत्वको मजदुर – सर्वाहारा पार्टी विघटन भए । चित्र बहादुर, हरेराम समूह समेत अस्तित्वमा देखा परे ।

यद्यपी माओवादी युद्धको समयमा पार्टीहरुको विभाजनका सुस्तता आए पनि वि.सं. २०६२/६३ को आन्दोलन पछिको शान्तिपूर्ण अवतरण पछि भने फेरी नेपालमा कम्युनिष्टहरुको विभाजन सुरु भयो । संविधान सभाको चुनाव र यसपछिका कार्यदिशाहरुमा मतभेद भई माओवादी किरण, विप्लव, मातृका यादव हालै आहुतीका रुपमा धर्को, थोप्ला आदि समूहमा विभाजन भयो । केही पार्टीहरु पछिल्लो समय माओवादी र एमालेमा एकीकरण पनि भयो । अमिक सेरचन, नवराज सुवेदी तथा परी थापा समूहहरु त्था साध्य बहादुर समूह यी दुई पार्टीमा एकीकृत भए । नेकपा माले पनि मन्त्रि हुने निहुँमा फुट्यो । टाउको, जुँगा, व्यक्तित्व, अहम्ता तथा केही वैचारिक र रणनीतिक कारणहरु वा विश्व घटनाहरुलाई हेर्ने दृष्टिकोण (श्रीलंकाका लिट्टे, पेरुका माओवादी) तथा विविध यौनकाण्ठहरु तथा १–२ जना समेत अध्यक्ष हुने खेलमा पार्टी फुटाउने प्रवृत्ति देखापरे पनि यसको निरन्तारता गणतन्त्रमा समेत रह्यो । जसले नयाँ नयाँ पार्टीहरुको विकासमा सहयोग पुर्यायो ।

आजको नेपाली सन्दर्भ
आज ओली र प्रचण्ड नेतृत्वको दुई वटा पार्टीहरु लामो समयको टुटफुटको क्रमभंगताको रुपमा एक ठाउँमा उभिएका छन् । सिद्धान्ततः कम्युनिष्ट पार्टीको दस्तावेजहरुको अध्ययन र भाषणबाजीहरुले मात्र उनीहरुलाई कम्युनिष्ट भन्ने सक्ने अवस्था रहदैँन । व्यवहारतः नेपाली कम्युनिष्टहरुको इतिहासले उनीहरुका पृथक पृष्ठभूमि र नेता – कार्यकर्ताहरुको सम्बन्धका कारण पनि उनीहरुमा माक्र्सवादी चरित्र पाउन मुस्किल छ । पहिलो पटक १९६१ मा अन्तरिक्षमा पाइला राख्ने रसियाका युरी गागरिन पृश्वीमा आएपछि सरकारले उनलाई जस्तोसुकै किसिमले पुरस्कृत गर्ने प्रस्ताव राख्दा उनले म कम्युनिष्ट पार्टीको सदस्य बन्न पाउँ भन्ने माग राखेका थिए । यो स्तरको नैतिक धरातल नेपाली कम्युनिष्ट पार्टीमा छैन की जो यसको सदस्य बन्न यस्तो अपिल गरोस् । राजनीतिक रुपमा आफ्नै धन्दाको मालिक बन्ने क्रोनी क्यापिटालिज्मले यिनीहरुलाई गाँजेको छ । तर पनि यो भिन्न भिन्न पृष्ठभूमिको पार्टीको एकता क्रमभंगताको नविन शृङ्खला भने हो ।

माओवादीको युद्धका विरासत तथा जनवाद र एमालेको बहुदलिय जनवादले भन्दा पनि पद, शक्ति र सत्ताको वरिपरी यो एकीकरणले घनचक्कर लगाउँदै थियो र यो आज एकीकरणको रुपमा पटाक्षेप भएको छ, कुनै मायावी प्रहसनको रुपमा । कम्युनिष्टहरुमा रसियाली र चीनिया धारले विभाजनलाई मलजल नेपालमा पनि गरेको थियो । यसैले एकता र विघटनको मुख्य नेतृत्व गरेजस्तो भए पनि व्यक्तिगत मनमुटाव र शक्ति सन्तुलन नै मुख्य कारणको रुपमा रहेको पाइन्छ ।

२१ औं शताब्दीमा हामीले लेनिले गरेजस्तो अक्टोबर क्रान्तिमा सेना पुलिसको समर्थनको अवस्था छैन, माओले गरेजस्तो सांस्कृतिक क्रान्तिको सम्भावना छैन, यसैको भडकावमा आफ्नै समर्थनका समेत १५लाख व्यक्ति झुण्डाउने पोलपोटको कथा पढिने छैन, भियतनामको जस्तो इतिहास रच्ने गरी सुस्ता, कालापानी, र इण्डो–चिनीया जासुसी सेल्टरहरुमा हमला गर्न सक्ने छैनौं, हामीले अमेरिकाको नाकै मुन्तिर ल्याटीन अमेरिकाको क्रान्तिका संवाहक चे, फिडेलका कथा दोहो¥याएर पढ्ने छैनौं, किम इल सुङले जस्तै देश विभाजन र आजको तनाव झेल्ने छैनौ, भारतीय नक्सलवाडी प्रभावको पुनरावृत्ति र आजको चासो छैन भन्ने बुझेर, छोटो समयमै गुमेको पेरिस विरासतको सपना देख्ने छैनौं भनेर र यी सबै कुराहरुलाई मनन गरेर आजका दिनबाट नेपालको सन्तुलित विकासमा योगदान गर्ने सपना मात्रै देखेर एकीकरण भएको हो मात्रै भनेपनि यसलाई फलदायी मान्न सकिन्छ ।

नेपालमा व्यवहारमा हेर्ने हो भने एकाध व्यक्तिहरुलाई छाडेर निष्ठाले हेर्ने नैतिक धरातलको सिर्जना गर्ने कम्युनिष्टहरु छैनन् । अध्ययन, कार्य, व्यवहार तथा योगदानहरुका आधारमा यिनहरु सम्मानित स्तरमा पुग्ने सामथ्र्य राख्दैनन नै । त्यसैले यिनीहरुप्रतिको भरोसा समेत यही सीमाभित्र कैद छन् । वर्गिय र सांस्कृतिक सचेतना मात्र हो यिनीहरुसँग कम भएको अरु सबथोकले यि परिपूर्ण छन् । राज्यका स्रोतमाथि आफैँ पौडी खेल्छन्, मौलाएको क्रोनि क्यापिटालिज्म छ, सुखशयल र विलासी जीवनको अभिप्षामा कमी छैन । त्यसैले त पाउलो कोहेलोले भने जस्तै क्रान्तिमा कोही कर्ता र कोही कर्म बनाइनु हुँदैन, कोही चिन्तन गर्ने र कोही त्यसको भरिया बन्ने भन्ने हुनु हुँदैन भन्ने शब्द निमूखा बनेको छ ।

अन्तमा कम्युनिष्टहरु कठोर शास्त्रीय अनुशासनमा मात्रै रहनुपर्छ भन्ने होइन । आज माक्र्स जिउँदो भइदिएको भए ट्वीटरमा के लेख्थे होला भनेर पनि सोचिनु पर्छ । सूचना, प्रविधि, लगानी, विचार आदि स्वतन्त्र आवतजावत हुने विश्वव्यापीकरणको छायाँमा आजका मानिसहरुको जीवनस्तरलाई ध्यान दिइएन भने आज भियतनाममा हाम्रा पुर्खाले अमेरिकालाई किन देश दिएनन् र लडे जसले यो दुरावस्था भोग्नुप¥यो भन्ने तिक्तता पोख्न सक्छन् । आजको प्रविधि र विश्वव्यापी सञ्जाललाई हेरेर माक्र्स के सोच्थे होला भन्ने सोचिएन भने यसका सौन्र्दयहरु पूँजीवादले आफ्नो बनाउने छ ।

जनताको जीवनस्तर उकास्ने आत्मनिर्भरता र अन्तरसम्बन्धलाई विचार नगर्ने र आधारभूत आवश्यकताका लागि समेत आज कोही प्रताडित हुनुपर्ने अवस्था रह्यो भने समाजवादी अर्थतन्त्रको चित्र कसरी कोर्न सकिन्छ ? आज क्युबा डाक्टर उत्पादन गरेर भेनेजुयलासँग तेलमा निर्यात गर्छ । हामी अबरका खाडिमा चामलको बोरा किन्न नपुग्ने गरी युवा पठाउँछौं । त्यसैले कम्युनिष्ट दर्शनहरु अब सैद्धान्तिक भुत्ते हतियारको रुपमा मात्र नभएर सिर्जनात्मक ढंगले समेत परिचालन गर्न सक्नुपर्छ । व्यवहार र नैतिकतामा अरुभन्दा भिन्नता हासिल गर्नै पर्छ । यसैले नै उनीहरुलाई दीर्घकालीन ब्याज खाने बनाउन सक्छ ।

त्यसैले यो एउटा सुखद अवसर हो कि हामी टुटफुटको विश्वव्यापी असरबाट मुक्त भएर स्वतन्त्र ढंगले सिर्जनात्मक रुपमा समाजवादी चरित्रको विकासमा जोडिएका छौ । यो अर्को विभाजनको सुरुवात होइन् । हामी यो एकतालाई दक्षिण एसियाली समाजवादी क्रान्तिको प्रस्तावना बनाउँछाैँ । यहि संकल्प गरुन्, शुभकामना ।।

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार १८:१०