५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

माइक्रोसफ्टको सञ्चालक समितिबाट बाहिरिए बिल गेट्स, शिक्षा र स्वास्थ्यमा परोपकारी काम गर्ने


२ चैत, काठमाडाैँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स परोकारी कार्यमा धेरै समय व्यतित गर्न आफू उक्त कम्पनीको सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेको उक्त बहुराष्ट्रिय प्रविधि कम्पनीले जनाएको छ । आगामी दिनमा उहाँले विश्वव्यापी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सक्रिय हुने बताइएको छ ।

उहाँले विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तन नियन्त्रण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने इच्छा भएको बताउनुभएको छ । “उहाँले प्रविधि सल्लाहाकारका रूपमा भने माइक्रोसफ्टमा काम गरिरहनुहुनेछ,” कम्पनीका प्रमुख कार्यकारी सत्य नाडेलाले बताउनुभयो । कुनै समय विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका ६५ वर्षका गेट्स अहिले दोस्रो धनी व्यक्तिका हुनुहुन्छ । फोब्र्स पत्रिकाले गेट्सलाई संसारका दोस्रा धनी व्यक्तिका रूपमा सूचीकृत गरेको छ । उहाँको सम्पत्ति १०३.६ अर्ब डलरबराबर भएको उसको मूल्याङ्कन छ ।

गेट्सले सन् १९७५ मा अर्का व्यवसायी पाउल एलेनसँग मिलेर माइक्रोसफ्टको सह–सञ्चालक बन्नुभएको थियो भने सन् २००० सम्म कम्पनीको प्रमुख कार्यकारीका रूपमा काम गर्नुभएको थियो । उहाँले सन् २००८ देखि नै माइक्रोसफ्टमा दैनिक काम गर्ने भूमिकाबाट टाढा भइसक्नु भएको थियो । माइक्रोसफ्टको सञ्चालक समितिमा नबस्ने घोषणा गर्दै गेट्सले उक्त कम्पनी आफ्नो जीवनको महत्वपूर्ण अङ्ग भएको र आफूले कम्पनीको नेतृत्व तहसँग निरन्तर सहकार्य गर्ने बताउनुभएको छ ।

गेट्स सन् २००४ देखि बाक्शरको सञ्चालक समितिमा हुनुहुन्थ्यो । तर उहाँले अधिकांश समय समाजसेवा र परोपकारमा सम्लग्न आफ्नो संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनमा बिताउनुहुन्छ । गेट्सले आफ्नी पत्नीसँग मिलेर उक्त संस्था स्थापना गर्नुभएको हो । उक्त संस्थालाई ४.८ अर्ब डलर दान दिएपछि गेट्स दम्पतीलाई ‘द क्रोनिकल अफ फिल्यान्थ्रपी’ले सन् २०१८ मा अमेरिकामा ‘सबैभन्दा दानवीर परोपकारी व्यक्ति’ घोषणा गरेको थियो । रासस

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार ०८:०८