६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

टोखा नगरपालिका साक्षर घोषणा


२८ फागुन, काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । सीपमूलक शिक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल आधार बन्नसक्ने उहाँको भनाइ थियो ।

सोही क्षेत्रका सांसदसमेत रहनुभएका उहाँले नगरपालिकाको भवन निर्माणसँगै छरिएको ठाउँबाट दिँदै आएको सेवा एकै ठाउँबाट दिने हुँदा सेवाग्राहीलाई सहज हुने बताउनुभयो । “भवनको सही सदुपयोग गरी गुणस्तरीय सेवा र सेवाको स्तरलाई बढाउँदै लानुपर्छ”, रक्षामन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो । सेवामा पारदर्शी भएमात्र टोखाको विकास हुने उहाँको भनाइ थियो । नगर प्रमुख प्रकाश अधिकारीले भवन समयभित्र सक्नका लागि नगरपालिकाले काम गर्ने बताउनुभयो । नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुुसार कक्षा सञ्चालन गरेको उहाँको भनाइ थियो ।

नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले भ्याटबाहेक रु १२ करोड लगानीमा नगरपालिकाको भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो । सात तलाको नयाँ बन्ने भवन डेढ वर्षमा सम्पन्न गरिसक्नुपर्नेछ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौँमा रहेका ११ नगरपालिकामध्ये नौ नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेको जानकारी दिनुभयो ।

नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र जम्मा ९२ विद्यालय रहेको बताउनुभयो । कूल ११ वडा रहेको टोखामा १५ देखि ६० वर्ष उमेर समूहका ९८.५४ प्रतिशत जनसङ्ख्या साक्षर रहेको उहाँको भनाइ थियो । विसं २०६७ मा टोखामा साक्षरताको प्रतिशत जम्मा ७९ प्रतिशत रहेको थियो । सोही अवसरमा साक्षरता बनाउन महत्वपूर्ण भूमिका खेल्ने वैकल्पिक विद्यालयलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १४:३३