१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक

१९ फागुन, अङ्कारा । ग्रिसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको समाचारमा जनाइएको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो ।प्राप्त समाचारमा यसअघि करिब १० हजार जना आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रिसको एक जमिनमा रोकिएको बताइएको थियो । जसका कारण ग्रिसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन् ।

ग्रिसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले ग्रिसको सिमाक्षेत्रमा आवश्यक मात्रामा रोकावट गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– हाम्रो सीमातर्फ अनावश्यक रुपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ । टर्कीले पनि शरणार्थी आप्रवासीको भार थेग्न नसक्ने बताएको थियो ।

टर्कीले सिरियामा विगतका वर्षहरुदेखि जारी रहेको युद्धका कारण ठूलो संख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले बहन गर्न सक्ने अवस्था नरहेको बताएको थियो । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले भने सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरु तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि अनुमति दिने बताउनुभएको थियो ।

गत शुक्रवार उहाँले ग्रिस र बुल्गेरियातिर जानका लागि अनुमति दिने घोषणा गर्नुभएको थियो । उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भिषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएका थिए । त्यसपछि उहाँले सो घोषणा गर्नुभएको थियो ।

टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेको बताइएको छ । पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी रहेका बताइएको छ । टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरु बस्ने गरेका बताइन्छ । उक्त देशमा तालिबान युद्धका कारण द्वन्द्वमा परेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रुपमा त्यहाँ पुगेका बताइएको छ ।

ग्रिसहुँदै अन्य युरोपेली देशहरुमा प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई ग्रीसले रोक्ने गरेको छ । प्रधानमन्त्री मित्सोटाकिसले शरणको मागका गर्दै दिइएका आवेदनहरुको कारबाही हाललाई अघि नबढाइने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रिस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिनुभएको छ । ग्रीसको सरकारले २४ घण्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रिस प्रवेश गर्नबाट रोकिएको जनाएको छ ।

त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रिस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समययता झडपहरु पनि भएका छन् । यस विषयमा भने ग्रीस सरकारले केही बताएको छैन । ग्रिसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बल समेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ । त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार ग्रिसका अधिकारीहरूले समुद्री मार्ग भएर पनि ग्रिसका केही भूभाग तथा विशेषगरी टापुहरूमा आप्रवासीहरू पुगेको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार १२:५५