१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बढी नै हावा चल्दा पनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्दैछाैँः प्रधानमन्त्री ओली

१०, फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई बिगारिदिएर आफू सप्रिने बाटो भन्दा सवैलाई सप्रिने बाटो लिनुपर्ने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित आफ्नो पुस्तक ‘भिजन टु एक्शन’ सार्वजनिक समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो निश्कर्ष सुनाउनु भएको हो ।

अरुले जाँच दिएको कापी च्यातेर आफू अब्बल बन्ने होइन, अरुको बिगारिदिएर आफू सप्रने होइन, आफूसँगै अरु पनि सप्रिने बाटो लिनुपर्छ, स्वस्थ प्रतिस्पर्धामार्फत,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न बर्तमान सरकार योजनावद्ध रुपमा अघि बढेको जानकारी पनि दिनुभयो । ‘हामीसँग बिकासको प्रचुर संभावना छ, कसैले मेटन नसक्ने गरी त्यो संभावनाको ढोका खोलेर अघि बढाउन सरकार प्रतिवद्ध छ, अहिलेसम्म नभएको केवल अब्यवस्थाले गर्दा मात्रै हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बिकासमा नेपाललाई धेरै अगाडि बढाउन सकिन्छ, अलि बढी नै हावा चल्दा पनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले तानाशाहीदेखि लोकतन्त्रसम्म आइपुगेको भन्दै अव यो ब्यवस्थालाई सुदृढ पारेर जनतालाई खुसी बनाउन सवै दलहरु लाग्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । ‘तानाशाही ब्यवस्थादेखि लोकतन्त्रसम्म देखेका छौं, भोगेका छौं, अहिले हामी आफैले लोकतन्त्र ल्याएका छौं, जनता सार्वभौम भन्दा माथि अरु के हुन्छ र ? केही छैन, हामीले कत्तिको ढंग पुर्याउँछौं ? यो चाँहि मुख्य कुरा हो, सार्वभौम भएर पनि ढंग पुर्याएनौं भने कस्को के लाग्छ र ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले नेपालमा प्रचुर स्रोत साधन रहेको र नेपालीमा असाधारण जेनेटिक मेमेरी रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले बर्तमान सरकारले मुलुकको ब्यापार घाटा कम गर्न र सन्तुलन मिलाउन निर्यातमुखी उद्योगमा जोड दिएको भन्दै अवका सवै प्रयाशहरु यसतर्फ केन्द्रित हुने जानकारी दिनुभयो । ‘अव आयातकर्ता देश होइन, निर्यातकर्ता देशको रुपमा बदल्न जरुरी छ हाम्रो देशलाई, आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले कोही भोगै नपर्ने र कोही भोकै नपर्ने अवस्था सिर्जना गर्ने जानकारी पनि दिनुभयो ।

उहाँले नेपालीले स्वास्थ्य नै बिग्रने गरी आयातित बस्तु सेवन गर्नुभन्दा नेपाली उत्पादनमै जोड दिनुपर्ने आवश्यकता रहेको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । ‘उपभोगका ढाँचा, चौरतरिका र प्रबृत्तिलाई फेर्न जरुरी छ, स्वास्थ्य नै बिग्रने गरी बिभिन्न केमिकल फ्लेभर भएका झोलहरु ल्याएर खान्छौं, त्यस्ले स्वास्थ्य पनि बिग्रन्छ, आयात पनि बढछ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रकाशित मिति : 19:37