१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सहिदको सम्झना गर्दै ७०औं प्रजातन्त्र दिवस मनाइँदै

७ फागुन, काठमाडौं आज ७०औं प्रजातन्त्र दिवस सहिदहरुको सम्झना गर्दै हर्सोल्लाससाथ मनाइँदै छ । आजै टुँडिखेलमा पनि सेनाले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७०औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्‍घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्‍गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ मा एकीकरणपछि बनेको कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ ।

७०औँ दिवस मूलसमारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

प्रकाशित मिति : 07:49