चीनमा रहेका १८० नेपालीलाई फागुन ३ मा ल्याइँदै
२९ माघ, काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहानमा रहेका १८० नेपालीलाई सरकारले फागुन ३ मा ल्याउने भएको छ । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिए ।
किन भयो ल्याउन ढिलाइ ?
नेपाल सरकारको एकल निर्णयले मात्रै चीनबाट नेपाली ल्याउन पाइँदैन । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले नेपालका लागि यसखालको उद्धार कार्य पहिलो अभ्यास भएको जानकारी दिँदै प्राविधिक, स्टेरिन समितिले काम गरिरहेको बताए । चीनमा कोरोना भाइरसको सङ्क्रमण रोकिएको छैन । त्यसलाई ध्यान दिई सङ्क्रमण भित्रिनै नदिन नेपालमा छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने हुन्छ । यसअघि बाहिर गएर आएका केही नेपाली सेना र प्रहरीलाई मात्र क्वारेन्टाइन व्यवस्था गरिएकोमा योपटक नागरिकलाई समेत पहिलोपटक क्वारेनटाइनमा राख्नुपर्ने भएकाले ढिलाइ भएको जनाइएको छ ।
कस्ता व्यक्तिलाई राखिन्छ क्वारेनटाइनमा ?
चीनबाट लक्षण नदेखिएका नेपालीलाई मात्र नेपाल ल्याइन्छ । लक्षण देखिएका व्यक्तिलाई चीनमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरिएको छ । लक्षण नदेखिएका व्यक्तिलाई नेपाल ल्याइने हुनाले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरी दुई सातासम्म उनीहरूलाई निगरानीमा राख्नुपर्ने हुन्छ । नेपालको विमानस्थलमा अवतरण गरिसकेपछि पनि उनीहरूको स्वास्थ्य परीक्षण गरिन्छ । त्यो अवस्थामा लक्षण देखिएमा उनीहरूलाई सीधै आइसोलेसन भएका अस्पतालहरूमा लैजाने व्यवस्था गरिएको छ ।
यातायातको व्यवस्था
चीनबाट ल्याइने विद्यार्थीलाई विमानस्थलदेखि क्वारेन्टाइनसम्म लैजान यातायात साधनको व्यवस्था मिलाइसकिएको छ । एम्बुलेन्स चालकलाई उद्धारका क्रममा अपनाउनुपर्ने सचेतताका विषयमा प्रशिक्षणको काम सम्पन्न भइसकेको छ । यीबाहेक चिकित्सक, नर्सलाई समेत तालिमको व्यवस्था गरिएको छ ।
आइसोलेसनको व्यवस्था
सरकारले सम्भावित बिरामीलाई उपचार गर्न ६ हब अस्पताल र ३० स्याटेलाइट अस्पतालमा गरी १४७ आइसोलेसन वार्डको व्यवस्था गरिसकेको छ । वीर, सिभिल, पाटन, शिक्षण, सैनिक र भक्तपुर अस्पताललाई हब अस्पतालका रूपमा विस्तार गरिएको खबर गोरखापत्र दैनिकमा छ । सहायक प्रवक्ता दाहालका अनुसार नेपालीलाई ल्याउने विषयमा सरकार संवेदनशील भएर अगाडि बढिरहेको छ ।
प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ०६:५१