१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

सामाजिक सुरक्षाको माग गर्दा अप्थाल्मिक साइन्सका शिक्षक निकालिए

४ मंसिर, काठमाडौँ । तिलगंगा आँखा अस्पतालले सञ्चालन गरेको अप्थाल्मिक साइन्सको प्रथम वर्षमा कार्यरत शिक्षकहरू सामाजिक सुरक्षाको माग गर्दा जागिरबाटै निकालिएका छन । सामाजिक सुरक्षा कोष तथा अन्य सुविधाहरू उपलब्ध गराउन माग गर्दा  अस्पताल प्रशासनले शिक्षकहरूलाई जागिरबाटै हटाइएको पाइएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत (सिटिइभिटि) बाट सम्बन्धन प्राप्त अप्थाल्मिक असिस्टेन्ट (ओए) मा कार्यरत प्रथम वर्षका नियमित फ्याकल्टीका १० जना शिक्षकमाथि अस्पताल प्रशासनले अन्याय गरेको पीडितहरूले बताएका छन । उनीहरूको आन्दोलनको घोषणा गर्दै ध्यानाकर्षण पत्र समेत सार्वजनिक गरेका छन ।

प्रतिष्ठानमा बारम्बार आफुहरूले पाउने हक अधिकारका विषयमा प्रतिष्ठान व्यवस्थापन र मुख्य कार्यकारी अधिकृतलाई ध्यानाकर्षण गराउँदा गराउँदै पनि आफूहरूको मागप्रति प्रतिष्ठानले बेवास्ता गरेको र ध्यानाकर्षण गराए पश्चात  आफुहरूको हाजिरी काटी फोनमार्फत आफुहरूलाई कलेज नआउन भनेकाले पठनपाठन नै ठप्प पारेर आन्दोलनमा उत्रिएको पत्रमा उल्लेख गरिएको छ ।

विगत २ महिनादेखिको तलब र चाडपर्वमा शिक्षकहरूले पाउने भत्ता समेत उपलब्ध नगराएको पत्रमा उल्लेख गरिएको छ । उनीहरूले विगत वर्षदेखि नै मासिक पारिश्रमिक तथा कानुनअनुसारको कर कटौती गरी बैङ्क खातामार्फत बुझ्दै आए‌को तर यस वर्षको चाडपर्व भत्ता र २ महिनाको तलब अहिलेसम्म नपाएको पनि उनीहरूले बताएका छन ।

उनीहरूले पत्रमा भनेका छन, ‘नेपालको श्रम ऐन, २०७४ को दफा ५२ अनुसार प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सहभागी गराउनु पर्ने प्रावधान रहेको र सो ऐनमा स्वास्थ्य, सुरक्षा, तथा आर्थिक संरक्षणका लागि अन्य आवश्यक सुविधाहरुको व्यवस्थापन गर्ने उल्लेख भएको हुँदा सामाजिक सुरक्षा कोषमा सहभागिताबाट कर्मचारीहरूले मेडिकल उपचार, आंशिक तथा पूर्ण अपा‌ङ्गता, गर्भावस्था दुर्घटना तथा वृद्धावस्थामा सहुलियत प्राप्त गर्ने व्यवस्था गरिएको छ। कानुन अनुसारका सामाजिक सुरक्षा तथा अन्य सुविधाहरू उपलब्ध गराउँदा संस्थाको प्रतिष्ठामा वृद्धि हुने र कर्मचारीहरुको मनोबल उच्च रहने उल्लेख छ ।’

प्रकाशित मिति : November 19, 2024 at 2:28 pm